काठमाडौं । काठमाडौंको रातोपुलमा रहेको ओजस थिएटरमा भोलि (भदौ १५) देखि नाटक ‘असुर’ मञ्चन हुँदैछ । विवेक न्यौपाने (घने) ले निर्देशन गरेको नाटकलाई रविन दोङ लेखेका हुन् ।
नाटकले २०५८ सालदेखि २०६३ भित्रका गतिविधिलाई चित्रण गरेको छ । नेपाली समाजले त्यतिबेला भोगेका भोगाइ, आममानिसको सास्ती, परिवर्तन, उत्पीडन र दमनलाई नाटकमा उतारिएको छ ।
भदौ १५ देखि असोज ८ गतेसम्म मञ्चन हुने ‘असुर’ बिहीबारबाहेक अन्य बार साढे ५ बजे मञ्चन हुनेछ । शनिबार १ बजे र साढे ५ बजे गरी दुई ‘शो’ नाटक मञ्चन हुने छ । नाटकको टिकट बुकिङ अनलाइनमार्फत पनि गर्न सकिनेछ । यसका लागि ओजस फिल्मस्को वेवसाइट खोल्न सकिनेछ । साथै, टिकटका लागि ९८२८९३५२२४ मा पनि सम्पर्क गर्न सकिनेछ ।
निर्देशक न्यौपानेका अनुसार ‘असुर’ एउटा घरको कथा हो, देशको कथा हो, सिद्धान्त र राज्य व्यवस्था फेरियो तर मान्छेका अवस्था (रुप) फेरिएन त्यहिँ अवस्था र स्थिति देखाउन ‘असुर’मार्फत देखाउन खोजिएको छ । कथामा एकै परिवारका बुवा–छोरा (दुई पिँढी) को विचार मिल्दैन ।
हिन्दू धर्मअनुसार भन्ने हो भने असुर एउटा शक्तिको भोको पात्र हो जो शक्ति प्राप्तिका लागि जे पनि गर्न सक्छ । कहिले देवताजस्तो त कहिले दानव जस्तो रुप लिन सक्छ । के हाम्रो घर समाजमा पनि यस्ता पात्रहरु छन् ? जसको शक्ति लालचले गर्दा राजनीतिक परिवर्तनहरू आम मान्छेको दैनिकीमा रुपान्तरण हुन सकेको छैन । यहिँ प्रश्न नाटक मार्फत केलाउने प्रयास गरिएको छ ।
नाटककार दोङ वि.सं. २०५८ देखि ०६२–०६३ सम्मको देशको परिवेशलाई असुरले ऐनाले जस्तै देखाउने चेष्टा गरेको बताउछन् । उनका अनुसार असली उत्पीडन र दमनविरुद्धको सिद्धान्तमा हिड्ने व्यक्तिहरुलाई अवसरवादीहरुले ओझेलमा पारेको सन्दर्भलाई नाटकमा प्रष्ट पार्न खोजिएको छ ।
नाटकले उत्पिडित वर्गको पिडाहरुलाई देखाउन खोजेको र क्रान्तिको नाममा आम जनताले भोगेको सास्ती नै असुर नाटकको मुख्य अभिप्राय रहेको नाटककार दोङ बताउछन् ।
असोज ८ सम्म ओजस थियटरमा मन्चन हुने ‘असुर’ नाटकमा दर्जनौँ कलाकारले भूमिका निर्वाह गरेका छन् । नाटकमा सागर कार्की ‘नरेन्द्र’, सुचित्रा उप्रेतीले ‘कलावती’, प्रल्हाद खरेलले ‘जुद्ध प्रसाद’, केशव सिं ठगुन्ना ‘भिमसेन’, प्रलाद खरेल ‘जुद्ध प्रकाश’, प्रतिक दुलाल ‘प्रकाश’, नमस्ते दिवाकार घिमिरे ‘चन्द्रे, मेघनाथ’, सोफिया बज्राचार्य ‘मोना’, विजय सापकोटा ‘ज्वाला’, सन्तोषी पौडेल ‘सुनथाने कान्छी’, उज्ज्वलराज ढकाल ‘पसले दाई’, श्याम कार्की ‘सुमन’, वीरेन्द्य्र सिंह कुशवाह ‘प्रभाकर’, अस्मिता ढकाल ‘माइली काकी’, शेखर दाहाल ‘उमाकान्त’, गंगा मगर ‘उषा’, विशाल परियार ‘अमृत’, लक्ष्मी राई ‘आस्था’, अनिल गुरुङ ‘बादल’, ओशन कार्की ‘चैते, सुशील’, प्रशंशा गहतराज ‘देवी’ र शुक्रराज मगर ‘मगर कान्छा’ को भूमिकामा रहेका छन् ।
चेतना सापकोटा कार्कीको सहनिर्माण रहेको नाटकका कास्टिङ डिरेक्टर सुरेन्द्र क्षेत्री हुन् भने भेषभुषाको जिम्मेवारी निशा गिरी, गंगा मगर र अस्मिता ढकालले सम्हालेका छन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।