काठमाडौं । सुप्रसिद्ध कवि तथा गीतकार रामबाबु सुवेदीको शब्द सिर्जनामा तयार भएको ‘मझेरीमै नाच्न देऊ’ बालगीतको भिडियो रिलिज गरिएको छ । संगीतकार डिल्ली प्रसाद चापागाईंको संगीत रहेको बालगीतमा लोकप्रिय गायिका मेलिना राईको स्वर रहेको छ ।
छुनामुना टुनाहरु हृदयका गजुर, गजुरलाई म्वाईखाउँ मेरो हजुर जस्ता बाल लोकलयमा आधारित निकै नै मर्मस्पर्शी र सुनिरहुँ जस्तो लाग्ने शब्द समावेश गीत रिलिज गरिएसँगै राम्रो प्रतिक्रिया आइरहेको गीतकार राम बाबु सुबेदी बताउँछन् ।
बीबी अनुरागीको एरेञ्ज रहेको गीतको भिडियोको निर्देशन पछिल्लो पुस्ताका लोकप्रिय निर्देशक आचार्य गोपालले गरेका हुन् । त्यस्तै भिडियोको निर्माण राम बाबु सुबेदीले गरेका हुन् ।
सार्वजनिक बाल गीतमा सुन्दर नगरी पोखराकी सानी नानी आयुष्मा भुजेलले मुख्य भूमिकामा अभिनय गरेकी छिन । जसमा स्थानीय बालबालिकाहरुको पनि अभिनय देख्न सकिन्छ ।
सार्वजनिक भिडियोमा कोरियोग्राफर साहारा कोइराला, छायाँकन सुजय गौतम र सम्पादन चानस पुन मगरको रहेको छ । सार्वजनिक बालगीत राम बाबु सुबेदीको अफिसियल युटुब च्यानलबाट दर्शकमाझ ल्याइएको हो भने भिडियोको प्रायोजक छबिलाल सुबेदी र बिमला सुबेदी हुन् ।
बाल साहित्य र बाल गीतमा बिगत ५० वर्षदेखि कलम चलाउदै आएका सुबेदीका आइताबारै बिहानै घाम सित उठे म, मेरो गाउँ ज्यामिरे लगाएत सयौं बाल गीतहरु हिट छन् । उनी जीवनको ८१ वर्षमा पनि बाल साहित्य र बाल गीत लेखनमा सक्रिय गीतकार हुन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।