
काठमाडौं । फिल्म ‘महापुरुष’को ‘बेमौसमी’ बोलको गीत सार्वजनिक भएको छ । मंगलबार काठमाडौंमा एक कार्यक्रमका बीच गीत सार्वजनिक भएको हो । गीतमा हरिवंश आचार्य र गौरी मल्ल, अरुण क्षेत्री र अञ्जना बराइलीको मुख्य अभिनय रहेको छ ।
कात्तिक ११ गते सार्वजनिक हुने फिल्म ‘महापुरुष’को यो गीत एसडी योगी र रेश्मा पुनको स्वर रहेको छ । कार्यक्रममा बोल्दै वरिष्ठ कलाकार हरिवंश आचार्यले अहिलेको समयमा एउटा मध्यम फिल्म आउन जरुरी रहेको बताए ।
उनले नेपालको बजारमा अहिले बीचको धारको फिल्म आवश्यक रहेको भन्दै तयारी फिल्मको धार र व्यापारिक फिल्मको धारलाई जोडेर फिल्म निर्माण गर्न आवश्यक रहेको बताए ।
उनले भने, ‘एउटा उत्कृष्ट चलचित्र आउनुपर्ने जरुरी छ र केही चलचित्रहरु लाइनमा छन् । आशा गरौँ ती चलचित्रहरु पनि राम्रा चलचित्र बन्नेछन् । केही चलचित्रहरु आर्ट फिल्म्सको हिसावमा उत्कृष्ट चलचित्रहरु बनेका छन् र प्रदर्शन पनि भएका छन् ।’
उनेल थपे, ‘तर नेपालको बजारमा अहिले बीचको धारको चलचित्र आवश्यक छ कि जस्तो महशुस भइरहेको छ । बीचको भनेको स्तरीय चलचित्रको धार र व्यापारिक चलचित्रको धार छोड्नुहुँदैन । यी दुई चलचित्रको धारको आवश्यक परेको छ ।’
त्यस्तै निर्देशक प्रदीप भट्टराईले समाजको गम्भीर विषयवस्तुलाई उठाएर फिल्म निर्माण गरिएको बताए । उनले समाजमा वर्षौंदेखि जरो गाडेर बसेको मान्यताहरुलाई फिल्मले भत्काउने प्रयास गरेको बताए ।
गीतमा भने पिता र पुत्रको एकैपटक परेको प्रेमलाई देखाइएको र बाँकी कथा फिल्मले भन्ने बताए । त्यस्तै कलाकार राजाराम पौडेलले आफूले पनि वरिष्ठ कलाकारहरुसँग र नयाँ कलाकारसँग मिलेर काम गर्ने अवसर पाएको भन्दै खुशी व्यक्त गरे ।
भाईटीकाको भोलिपल्ट देशभर प्रदर्शन हुन लागेको फिल्म महापुरुषको लेखन तथा निर्देशन प्रदीप भट्टराईले गरेका छन् । फिल्ममा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, गौरी मल्ल, रवीन्द्रसिंह बानियाँ, राजाराम पौडेल, अरुण क्षेत्री, अञ्जना बराइली, सिरु बिष्ट, कोपिला थापा, शिखा तामाङ, कविता श्रेष्ठ, नरेश पौडेल, नरेन्द्र कंसाकार, सविन बाँस्तोला, अर्जुन आचार्य, सुमन रिमाल, सुमन बास्तोला, माधव अधिकारी, प्रकाश भट्टराई, घनु जोशी, प्रेम पाण्डे, सम्यकसिंह बानियाँ, भिभियाना थपलिया, जगदीश अधिकारी, जेबी रुवाली, प्रज्ज्वोल लुइँटेल लगायतका कलाकारको अभिनय रहेको छ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।