काठमाडौं । दीपेन्द्र के खनालको निर्देशनमा तयार फिल्म ‘के घर के डेरा’ले बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ । यसैबीच निर्माण कम्पनी ए प्लस इन्टरटेनमेन्टले शुक्रबार (आज) प्रेस विज्ञप्ती निकालेर पहिलो साताको कमाइ सार्वजनिक गरेको छ ।
यही कात्तिक ४ गतेबाट दर्शकमाझ प्रदर्शनमा आएको ‘के घर के डेरा’ले पहिलो सात दिनमा ३ करोड ६३ लाख रुपैयाँ ग्रस कमाइ गरेको छ । तिहार पर्वको मौकामा फिल्मले बक्स अफिसमा आक्रामक व्यापार गरेको निर्माण टिमको भनाइ छ । योसँगै ‘के घर के डेरा’ले प्रदर्शनमा आएको पहिलो साता नै लगानी सुरक्षित गरेको छ ।
दोस्रो शुक्रबार अर्थात् आजदेखि हरिबंश आचार्य र मदनकृष्ण श्रेष्ठको ‘महापुरुष’ पनि दर्शकमाझ रिलिजमा आएको छ । जसको बाबजुद पनि फिल्मले उत्कृष्ट अकुपेन्सी कायम गरेको छ ।
फिल्मले दोस्रो सप्ताहन्तसम्म सजिलै ६ करोड रुपैयाँ बढी ग्रस कमाइ गर्ने अपेक्षा गरिएको छ । यो फिल्ममा दयाहाङ राई, विपिन कार्की, सुरक्षा पन्त र वर्षा राउत मुख्य भूमिकामा छन् ।
योसँगै यस वर्ष अभिनेता दयाहाङ राईको हयाट्रिक पूरा भएको छ । ‘कबड्डी ४’ र ‘दुई नम्बरी’पछि ‘के घर के डेरा’ लगानी उठाउन सफल तेस्रो फिल्म हो । ‘के घर के डेरा’ले दोस्रो साता (आज)देखि मुनाफाको दौड सुरु गरेको छ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।