काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरले बेस्ट नायिकाको रुपमा आफूलाई कुनै अवार्ड नआएको भन्दै गुनासो गरेकी छन् । फिल्म ‘बगान’को शीर्ष गीत ‘उडी छुनुछ आकाश’ सार्वजनिक कार्यक्रममा अभिनेत्री मानन्धरले यस्तो बताएकी हुन् ।
अभिनेत्री मानन्धरले आफूलाई जहिले पनि मेकअप र लुगाले मात्रै मूल्यांकन गर्ने गरेको बताइन् । फिल्म ‘बगान’मा भने आफूले अभिनयबाट चिनिने मौका पाएको बताइन् ।
उनले भनेकी छन्, ‘उमेरसँगै मानिसले आफूलाई अर्को धारमा लैजानुपर्ने हुन्छ । त्यसको लागि म हाई ममी, बाई ममी भन्ने रोलमा गर्न रेडी थिइनँ । ग्ल्यामरस हिरोइनको छाप ममा छ, त्यसलाई कायम गनुएपर्ने बाध्यता मलाई छ ।’
उनले फेरि भनेकी छन्, ‘करिश्मा मानन्धरले कहिले पनि बेस्ट नायिका भनेर अवार्ड पाएन । जहिले पनि यत्रो लामो करियर भयो, कहिले पनि पाएन । जहिले पनि मेकअप र लुगाको मात्रै ध्यान दिनुपर्ने बाध्यता रह्यो मेरो । यो फिल्ममा मैले अभिनयबाट चिनाउने रोल गर्न पाएँ ।’
सरोज खनाल निर्देशित फिल्म ‘बगान’ आगामी फागुन १२ गतेबाट देशभर प्रदर्शनमा आउँदैछ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।