काठमाडौं । नेपाली फिल्म बगानको शीर्ष गीत ‘उडी छुनुछ आकाश’ सार्वजनिक गरिएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमबीच फिल्मको उक्त गीत सार्वजनिक गरिएको हो । गीत सार्वजनिक कार्यक्रममा बोल्दै निर्देशक एवं नायक सरोज खनालले फिल्ममा विधुवा महिला (आमा) को पनि विवाह गर्नुपर्छ भन्नेकुरा उठाइएको बताए ।
उनले अल्पायुमा नै श्रीमतीको देहावसान भएपछि श्रीमानलाई बाँकी जीवन बिताउन अर्को जीवन साथीको खाँचो भएझैँ महिलालाई पनि अर्को जीवनसाथीको खाँचो हुनेकुरा फिल्ममा रहेको बताए । उनले अहिले विधुवा पुरुषको कथा रहेको फिल्म महापुरुषले सिने क्षेत्रमा तहल्का पिटेको उल्लेख गर्दै महिला विधुवाको कथालाई पनि दर्शकले मन पराइदिने विश्वास व्यक्त गरे ।
उनेल भने, ‘अल्पायुमा नै श्रीमतीको देहावसान भएपछि श्रीमानलाई बाँकीको जीवन बिताउन अर्को जीवन साथीको खाँचो हुन्छ भने महिलाहरुलाई हुँदैन ? हामी २१ औं शताब्दीमा छौँ । समानताको कुरा गर्छौं । कुरा गर्छौं, कर्म गर्दैनौँ । मैले यो सिनेमाबाट कर्म गर्न खोजेको छु ।’
उनले थपे, ‘विधुवा पुरुषको मात्रै कुरा होइन, अहिले विधुवा पुरुषको कथाबाट बनेको महापुरुषले तहल्का पिटिरहेको छ, मैले यस फिल्ममा विधुवा महिला (आमा) को पनि विवाह गर्नुपर्छ भन्नेकुरा उठाएको छु । त्यो उठाउने जिम्मा आजको पिढीको हो ।’
त्यस्तै अग्रज कलाकार बसुन्धरा भुसालले दर्शकहरुले यो फिल्म मन पराइदिने विश्वास व्यक्त गरिन् । उनले फिल्मले समाजमा महिलालाई परेको दुःखलाई देखाएको बताइन् । फिल्ममा महिलाको हक, अधिकार र वेदनालाई समेटिएको बताइन् । त्यस्तै अग्रज कलाकार नीर शाहले समाजलाई परिवर्तन गर्न चलचित्रको माध्यमबाट परिवर्तन गर्नका लागि यो चलचित्र आवश्यक रहेको बताइन् ।
उनले फिल्मले सामाजिक कुरीतिविरुद्ध एउटा सशक्त आवाज उठाएको उल्लेख गरिन् । सरोज खनाल निर्देशित चलचित्र बगान आगामी फागुन १२ गतेबाट देशभर प्रदर्शनमा आउँदैछ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।