काठमाडौं । अभिनेता नाजिर हुसेनले आफूलाई ‘तपाई हिन्दू कि मुसलमान’ भनेर अनावश्यक प्रश्नहरुको सामना गर्नुपरेको भन्दै त्यसको स्पष्ट जवाफ दिएका छन् ।
ढाका टोपी (नेपाली टोपी) दिवसको सबैमा शुभकामना दिँदै आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत नाजिरले आफू पनि यहिँ माटोको नेपाली रहेको बताउँदै देशको कुरा आउँदा अरुलाई जति दुख्छ आफूलाई पनि त्यति नै दुख्ने जवाफ दिएका छन् ।
उनले नागरिकता वा मेरो पासपोर्टमा लेखिएको मोहमद नाजिर हुसेन नाम पढेर यस्ता खालका प्रश्न नगर्न पनि घुमाउरो तरिकाले भनेका छन् । साथै, भारतीय मुस्लिम कि नेपाली मुस्लिम भन्ने प्रश्नको सामना गर्नु परेकोमा गुनासो गरेका छन् ।
नाजिरले फेसबुकमा लेखेका छन् :
मेरो वंशज नागरिकता वा मेरो पासपोर्टमा लेखिएको मोहमद नाजिर हुसेन नाम पढेर मैले प्राय नखोज्दा पनि भेटिरहने प्रश्नहरू
तपाई इन्डिएन मुस्लिम कि नेपाली मुस्लिम ?
तपाई हिन्दू कि मुसलमान ?
ओहो, तपाई त तराईबाट आएको भएपनि
नेपाली त स्पष्ट बोल्नु हुदोँ रैछ !
फ्याट्ट उत्तर दिन मन लाग्छ
हम्राके भोजपुरीयो निमनसे बोलेके लुर बा ।
मान्छे बन्न खोज्दैछु
मान्छे बन्न दिनुस् ।
सुन्नुस
म पनि यहि माटोको हो
मेरो शरीरमा पनि रगतनै हो बग्ने
देशको कुरा आउँदा तपाईलाई जति दुख्छ मलाई पनि तेतिनै दुख्छ
तपाईलाई जति खुशीलाग्छ मलाई पनि तेतिनै खुसी लाग्छ ।
हरेक नेपालीको शिरमा सगरमाथा झैँ अटल, अग्लो र विशाल भएर बस्ने
हाम्रो ढाका टोपी जस्तै,
सबैको सोच र विचार अग्लियोस !
ढाका टोपी (नेपाली टोपी) दिवसको सबैमा शुभकामना
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।