- इन्दिरा चाम्लिङ
ब्रसेल्स । नेपाल पत्रकार महासंघ यूरोप शाखाको आयोजनामा नयाँ वर्ष २०२३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
भर्चुअल माध्यमबाट शनिबार साँझ नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रमका निमन्त्रणा गरिएका प्रतिनिधिसभाका नवनिर्वाचित सांसद ठाकुर गैरेले देशको आर्थिक अवस्था गम्भीर रहेको बताउँदै आगामी वर्षमा देश समृद्धिको बाटोमा जाने विचार व्यक्त गरे । उनले आगामी दिनमा विदेशमा बस्ने नेपाली समूदायका मागहरुलाई नेपालको संसदमा बुलन्द पार्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रम गैरआवासीय नेपाली संघकी उपाध्यक्ष यासमिन वेगम सैयदले नयाँ वर्षको शुभकामना व्यक्त गरिन् । उनले पुरानो वर्षका नकरात्मक कुरा विर्सेर नयाँ वर्षमा अघि बढ्न सुझाव दिइन् ।
कार्यक्रममा प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव रोशन पुरीले शुभकामना मन्तव्य दिदै पत्रकारहरुलाई काम गर्न अझै पनि चुनौती रहेको बताए । उनले पत्रकारहरुलाई निरत्साहित गर्न समाजिक संजाल मार्फत नयाँनयाँ चुनौती थपिएको बताए ।
सामाजिक सञ्जालमा व्यक्तिगत गोपनियता ह्याक गर्ने, ट्राफिकिङ् गरिदिने ब्यापक समस्या रोक्न काम गर्ने र नयाँ वर्षमा प्रेस स्वतन्त्रता अझ मजबुत बनाउँदै अघि बढ्न सकियोस् भन्दै उनले शुभकामना व्यक्त गरे।
शुभद्रा ढकाल र इन्दिरा चामलिङको गजल तथा मुक्तक प्रस्तुत रहेको कार्यक्रममा काठमाडौका लागि पोर्चुगलका वाणिज्यदूत तथा चर्चित उद्योगी राजेन्द्र खेतान, पत्रकार चिरन शर्मा, एनआरएनए उपमहासचिव गंगाधार गौतम, सचिव राधिका गुरुङ (टीका), प्रवासी नेपाली मंच अन्तर्राष्ट्रिय समितिका अध्यक्ष संजय थापा, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य केसी लामिछाने, प्रवासी नेपाली एकता मंच युरोप संयोजक उमेश मोक्तान लगायतले शुभकामना मन्तव्य दिए । यसैगरी ग्लोबल एनआरएनए सचिव धर्मराज खतिवडा, पशुपति पोखरेल, बेदबहादुर कडेल लगायतले शुभकामना दिएका थिए ।
शाखाका कार्यवाहक अध्यक्ष केजीन राईको सभापतित्वमा सम्पन्न कार्यक्रमलाई उपाध्यक्ष राजकुमार थापा, महासचिव द्रोण रिजाल र सचिव शेरबहादुर परियारले शुभकामना मन्तव्य सहित संयुक्त रूपमा संचालन र स्वागत गरेका थिए ।
होटल मेलनमा शुभकामना साँझ सम्पन्न
यसैगरी नयाँ वर्षको उपलक्ष्यमा नेपालकी चर्चित लोक तथा दोहोरी गायिका सुनिता दुलाल सांस्कृतिक साँझ लुभेनस्थित होटल मेलनले आयोजना गरेको थियो । बेल्जियमको सुन्दर, शान्त र समृद्ध सहर लुभेन निवासी नेपालीहरूले अंग्रेजी नयाँ वर्षको स्वागत गर्दै नेपाली लोक भाकाहरूमा छमछमी नाचे नयाँ वर्ष मनाए ।
नेपाली लोक गीत, संगीतका नक्षत्र गायिका सुनिता दुलालको सांगितिक प्रस्तुतिले कार्यक्रमको रौनकता बढाएको थियो । सांगितिक यात्राका युरोप भ्रमणमा रहेकी दुलालले ‘मायाको मुखैमा चिनी, चिनी भन्दा गुलियो गफ दिनी’, ‘झम्के फूली नाकैमा बुलाकी, यसपाली त घरबारै होला कि’ लगायत गीत गाएर मनोरञ्ज दिलाइन् ।
कार्यक्रमको आयोजना सफल युवा व्यवसायी तथा होटल सञ्चालक पुष्प नेपाल र मैया नेपालले गरेका हुन् । उनीहरुले पाहुनाहरूलाई नयाँ वर्षको शुभकामना दिँदै उपस्थितिको लागि धन्यवाद ज्ञापन गरे ।
नयाँ वर्षको उपलक्ष्यमा आयोजित कार्यक्रममा २०२२ लाई विदाइ गर्दै नयाँ वर्ष २०२३ लाई स्वागत गर्न केक नै सामूहिक रूपमा स्वागत गरिएको थियो । पूर्वदेखि पश्चिमसम्मका नेपालीहरू विदेशी भूमिमा एकै ठाउँमा भेला भइ एक आपसमा दुःख, सुख साट्दै नयाँ वर्ष मनाएका थिए ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।