- इन्दिरा चाम्लिङ
बेल्जियम । बेल्जियमस्थित केसेलोमा नेपाली समाजद्वारा नयाँ वर्षको उपलक्ष्यमा सांस्कृतिक कार्यक्रम आयोजना सम्पन्न भएको छ ।
कार्यक्रमको आयोजना केसेलो निवासी सामाजिक व्यक्तित्व जोगमान तमु र बोधराज पौड्यालको गरेका हुन् । कार्यक्रम सफल बनाउन केसेलो निवासी अनिता लामा र स्थानीय कलाकार अनु मगर (निसा)ले सहयोग गरेका छन् ।
नयाँ वर्षको कार्यक्रममा नेपालबाट आएका चर्चित कलाकारहरूको आकर्षक प्रस्तुतीका साथ उपस्थित दर्शकहरूले भरपूर मनोरञ्जन लिए । नेपालीहरूले परदेशको व्यस्त समयमा एकै ठाउँ भेला भएर नयाँ वर्षको शुभकामना आदानप्रदान गर्दै एकआपसमा दुखसुख साटासाट गरे ।
चर्चित गायक डेबिट शंकर, सुमधुर स्वरकी धनी गायिका मल्लिका कार्की र चर्चित हाँस्य कलाकार पल्पसा डङ्गोलको आकर्षक प्रस्तुतिबाट माहौल निकै रोमाञ्चक बनेको थियो ।
गायक डेबिट शंकरले ‘औठी चिनो साटे मैले पहिलो नम्बरमा’, ‘फरफनी घुमेको कमरमा’लगायतका दर्जन गीत गाए । गायिका मल्लिका कार्कीले ‘यति धेरै मान्छेको भीडमा एउटा मान्छे छ मेरो मनमा’ लगायतका दर्जनौँ गीत गाएर सबैलाई नचाइन् ।
उक्त सांगितिक कार्यक्रममा मरक्को, टर्की र बेल्जियमका नागरिकहरूले समेत नेपाली गीतसंगीतमा अत्यन्त सुन्दर नृत्य गरे । उनीहरूको नृत्यलाई हेरेर भन्न सकिन्थ्यो संगीतको कुनै भाषा हुँदैन । र, यो गहकिलो कथन नायिका पार्बती अधिकारीको थियो ।
बेल्जियमको विभिन्न सहरबाट मात्र नभई कार्यक्रममा होल्यान्डका विभिन्न सहरबाट पनि नेपालीहरूको बाक्लो उपस्थिति रहेको थियो । आयोजक टिमका जोगमान तमुले आफूले कला, संस्कृति र कलाकारलाई निकै माया गर्ने बताउदै यस्ता कार्यक्रमले सामाजिक सद्भाव कामम राख्न आपसमा हार्दिकता, आत्मीयता, सामिप्यता बढाउन मदत गर्ने विश्वासले आयोजना गरेको बताए ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।