काठमाडौं । केही समय अघि टिकटकमा निकै भाइरल भएको गीत ‘है जिरा फुल्याको छै क्या’ सार्वजनिक हुने भएको छ । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह र संघीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री सुदन किराँतीले राष्ट्रिय नाचघर जमलमा शुक्रबार साँझ यो गीत सार्वजनिक गर्नेगरी तयारी थालिएको छ ।
है जिरा फुल्याको छै क्या बोलको गीतका टुक्काहरु केही समयअघि टिकटकमा निकै भाइरल भएका थिए । तर, यो गीतका टुक्कामात्रै सुन्न पाएका स्रोताले अब पूरा गीत हेर्न र सुन्न पाउने भएका हुन् । सुदूरपश्चिमको कला–संस्कृति र पर्यटन प्रवद्र्धनका लागि ‘है जिरा फुल्याको छै क्या’ बोलको देउडा गीत बनेको हो ।
यो गीतमा सुदुरपश्चिम प्रदेशका ९ ओटै जिल्लालाई समावेश गरिएको छ र त्यसबारे जानकारी दिइएको छ । यस देउडा गीतले सुदूरपश्चिमको कला–संस्कृतिलाई समेत उजागर गरेको छ । म्युजिक भिडियोमा कैलाली र बर्दियाको सीमानाका रुपमा रहेको कर्णाली पुललाई विशेष प्रथमिकता दिइएको छ ।
गीतका रचनाकार चिसापानी एड्भेन्चर रिर्सोटका सञ्चालक तपेन्द्र रावल हुन् भने चर्चित देउडा गायक चक्र बम, रेखा जोशीले यसमा स्वर दिएका छन् । साथै चर्चित बाल गायिका पूजा देवकोटा र रचनाकार तपेन्द्र रावलको समेत स्वर यस गीतमा रहेको छ ।
करीब दुई वर्ष अघि नै रेकर्ड गरिएको यस गीतको म्युजिक भिडियोको छायाङ्कनको काम भर्खरै सम्पन्न भएको छ । सुदुरपचिमको प्रदेशको प्रवेशद्वार चिसापानी कर्णाली पुल, कैलालीको घोडाघोडी ताल, त्रिवेणी धाम, कञ्चनपुरको वेदकोट ताल, अछामको रामारोसन, पञ्चदेवल, डडेलधुराको उग्रतारा मन्दिर र सुदूरपश्चिमको भु–स्वर्ग मानिने खप्तड क्षेत्र लगाएत सुदूरका नौ वटा नै जिल्लाका प्रमुख पर्यटकीय स्थलहरुसहित भारतको मुम्बईंमा गीतको म्युजिक भिडियो छायाँकन गरिएको छ ।
रचनाकार एवं गायक तपेन्द्र रावलको नै निर्देशनमा यस गीतको छायाँकन गरिएको हो । रावलको समेत अभिनय रहेको यस गीतमा अनु खड्का, रश्मि कुँवर, शिखा मल्ल लगायतका कलाकारको नृत्य रहेको छ ।
कोरोना कहरका कारण समग्र पर्यटन क्षेत्रमा देखिएको मन्दीले सुदूरको पर्यटन व्यवसायलाई समेत नराम्ररी थलापारेकाले त्यहाँको पर्यटन प्रवर्द्धनका लागि गीत तयार पारिएको रचनाकार रावलको भनाइ छ । सुदूरपश्चिमको मौलिक भाषामा बनको यो गीतबाट उठेको रकमले विदेशी पर्यटकको समेत मन जित्न निकट भविष्यमा चिसापानी कर्णालीमा चारैतिर मुखाकृति भएको गौतमबुद्धको शालिक समेत स्थापना गर्ने योजना रहेको उनले बताए ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।