- सितल रिजाल
काठमाडौँ । नेपाली सांगीतिक क्षेत्रमा सधैँ विवाद र चर्चामा रहने पात्र हुन्– गायक प्रकाश सपुत । उनका हरेक सिर्जना सकारात्मक र नकारात्मक दुवै कोणबाट तरङ्ग छर्नेमा पर्छन् । तर, पछिल्लो समय उनले आफ्नो सिर्जना मार्फत दिन खोजेको सन्देश र महिला पात्रको चरित्र चित्रणलाई लिएर अझै बढी विरोध हुन थालेको छ । भर्खरै सार्वजनिक भएको उनको नयाँ गीत सकम्बरी पनि महिला चरित्रमाथिको विषयलाई लिएर विवादमा तानिएको छ ।
गायक तथा सर्जक प्रकाश सपुतको नयाँ गीत सकम्बरी यतिबेला युट्युवको ट्रेन्डिङ नम्बर १ मा छ । उक्त गीत टिकटक, फेसबुक लगायतका सामाजिक सञ्जालमा पनि उत्तिकै भाइरल छ । गीत जति चर्चामा छ यसको भाव र दिन खोजेको सन्देशलाई लिएर विवाद पनि उत्तिकै चुलिएको छ । गायक सपुतको गीतमा समेटिएका शब्द र दृष्यले कलाकारिता क्षेत्रमा लागेका र लाग्न चाहेका युवतीहरुको चरित्रमाथि प्रश्न उठाएको भन्दै गायक सपुतको चौतर्फि आलोचना पनि भइरहेको छ । रातमा आफ्नो कर्ममा जाने या कर्म गरेर फर्किने महिलाहरुमाथि गीतले गलत टिप्पणी गर्न खोजेको र महिलालाई अवहेलना गर्न खोजेको अधिवक्ता तथा महिला अधिकारकर्मि मिरा ढुङ्गाना बताउँछिन् ।
कला र कलाकारिता स्वतन्त्रताको अभिव्यक्ति पनि हो । सृजनाले विना कुनै बाधा व्यवधान स्थान पाउनुपर्छ भन्नेमा दुई मत छैन् । तर, पीर हुँदै सकम्बरीसम्म आईपुग्दा प्रकाशले आफ्नो सृजना मार्फत जुन भाष्य सिर्जना गर्न खोजेका छन, यसले नेपाली समाज र सिङ्गो कलाकारिता जगत प्रति नै गम्भीर प्रश्न खडा गरिदिएको छ । अझ सकम्बरी–२ को ट्रेलरमा महिला र राजनीतिलाई जुन तरिकाले जोड्न खोजिएको छ, यसले महिलाको स्वतन्त्रता, स्वाधिनता र सार्वभौमिकता माथि प्रहार गरेको प्रष्ट हुन्छ ।
कलाकारिता क्षेत्रबाट राजनीतिमा प्रवेश गरेका महिला नेतृहरुलाई यस गीतले निकै ठुलो प्रभाव पारेको छ । एउटा सर्जकको सिर्जनाले नेपाली समाजको धारणा निर्माणमा निकै ठूलो भुमिका निर्वाह गरेको हुन्छ । त्यसैले जुन तरिकाले प्रकाशका पछिल्ला गीतहरुमा सिलसिलेवार ढंगले महिलाहरुको प्रगतिलाई देह व्यापारसंग जोडिन थालेका छन्, यसले समाजलाई गलत दिशातर्फ डोहोर्याउने जनवादी कलाकारको तर्क छ ।
प्रकाशको गीतमा प्रायोजन गर्ने संस्थाहरुले पनि यस्ता प्रवृत्तिलाई निसन्देह सघाइरहेका छन् । सामाजिक उत्तरदायित्वको विषय पनि यसमा जोडिनु पर्छ । तर, एउटा सर्जकले उत्पादन गर्ने विभिन्न विषयवस्तुले समाजलाई पनि निर्देशित गर्ने भएकाले यस्ता विषयमा संवेदनशीलता आवश्यक पर्छ । अझं, प्रकाशले आफ्नो गीत पहिलो रिलिज गराएको प्लेटफर्म नै गैरकानूनी रहेको टिप्पणी हुने गरेको छ । डिसहोम गो एपमा रिलिज भएको गीत र उक्त प्लेटफर्मले गर्न पाउने काममाथि नै प्रश्न उठिरहेको छ । यसरी हेर्दा प्रकाशका पछिल्ला सिर्जना महिलाविरुद्ध मात्रै नभई विशुद्ध आर्थिक हिसाबका मात्र देखिन थालेको टिप्पणी बढ्न थालेको छ । यद्यपि उनको गीतले वास्तविकता बोलेको भन्दै प्रशंसासमेत उत्तिकै भइरहेको छ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।