काठमाडौं । खालिङ भाषामा निर्माण गरिएको दुई म्युजिक भिडियो सार्वजनिक भएको छ ।
गायिका उर्मिला खालिङ र नव गायक हेमन्त खालिङको स्वर रहेको वासख्वाम् (भुमेथान) र नु (मन) गीतको म्युजिक भिडियो वैशाख १ गते सार्वजनिक गरिएको हो ।
उर्मिला खालिङको शब्द रचना रहेको दुई वटै गीतको संगीत निरकुमार राईले भरेका हुन् । साथै, भिडियोको छायाँकन तथा सम्पादन गंगाराम राईले गरेका छन् ।
म्युजिक भिडियोको छायाँकन काठमाडौंका विभिन्न स्थानमा गरिएको छ । वासख्वाम् (भुमेथान) को म्युजिक भिडियोमा अर्जुन खालिङ, सीता कुमारी खालिङलगायत २४ जनाले आफ्नो कला प्रस्तुत गरका छन् । वास शिल (भुमे) गीतमा उर्मिला र हेमन्तसँगै निरकुमार खालिङ र छबिमाया खालिङले पनि स्वर भरेका छन् ।
यस्तै, नु (मन) को म्युजिक भिडियोमा तिलक खालिङ र निर्मला खालिङको बेजोड अभिनय रहेको छ । गायिका उर्मिलाले खालिङ भाषाका थुप्रै गीत गाइसकेकी छिन् भने गायक हेमन्त (जो संगीतका विद्यार्थी पनि हुन्) को भने पहिलो अनुभव हो ।
किरात खालिङ राई केन्द्रीय अध्यक्ष सीता कुमारी खालिङको प्रमुख आतिथ्यमा काठमाडौंस्थित नवदुर्गा पार्टी प्यालेसमा म्युजिक भिडियो सार्वजनिक गरिएको हो । सार्वजनिक कार्यक्रममा सोलुखुम्बुबाट प्रतिनिधिसभातर्फ निर्वाचित सांसद मानबीर राई र माप्य दुधकोशी गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईलाई अतिथिका रुपमा आमन्त्रित गरिएको थियो ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।