- युवराज आचार्य
झापा । नेपाली चलचित्र जगतका सुपरस्टार ‘दर्पण छायाँ’का नायक उत्तम प्रधानले दुई दशकपछि पुनः सिक्वेलको रुपमा उही नाम दिएर नयाँ सिनेमा बनाउने भएका छन् ।
दर्पण छायाँ, लहाना, साइनो, मलाई माफ गरिदेउ, मितीनीलगायत ३ दर्जन बढी नेपाली चलचित्र खेलिसकेका अभिनेता उत्तम प्रधानले आफ्नो सुपरहिट चलचित्र दर्पण छायाँको सिक्वेल चाडैं बनाउने तयारी रहेको बताए ।
एक दशक नेपाली चलचित्र जगतबाट टाडा रहेका भारतको सिक्किम निवासी नायक प्रधानले पुनः नेपाली दर्शक र सिनेमाको मायाले तानेको बताए ।
सिक्किमको चलचित्र विकास बोर्डमा अध्यक्ष भएर ५ वर्षे कार्यकाल पूरा गरेका प्रधानले शुक्रबार झापाली पत्रकारसंग काँकरभिट्टामा कुराकानी गर्दै ‘दर्पण छायाँ’ पछि पुनः उक्त चलचित्र नेपाली दर्शकमाझ ल्याउन लागिएको बताए ।
दर्शकको भरपुर साथ र माया पाउँदा पाउँदै पनि विविध कारणले नेपाली चलचित्रबाट टाढा हुनुपर्दा आफू दुःखी भएको बताउँदै उनले अब फेरि दर्पण छायाँको सिक्वेलबाट जोडिन लागेको जनाए ।
श्रीमती संगीता प्रधानसंगै झापाको काँकरभिट्टा आएका उनले आवश्यकता अनुसार आफू सिक्किमको राजनीतिमा समेत जाने बताएउँदै बर्षमा एउटा मात्रै भएपनि नेपाली चलचित्र निर्माण गर्ने बताए ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।