काठमाडौँ । कवि एवं गीतकार जगदीश्वर पोखरेलका नवीनतम १५ वटा कृति एकैसाथ बजारमा आउन लागेका छन् । उनका शास्त्रीय छन्द, मात्रिक छन्द र लोकलयका कवितासंग्रह, गीति कवितासंग्रह तथा गीतिसंग्रह गरी १५ कृति एकसाथ बजार आउन लागेका हुन् ।
पछिल्लो समय छन्द साधनामा तल्लीन कवि पोखरेलले एक अक्षरको छन्ददेखि ३० अक्षरसम्मको लामो छन्दसम्म विभिन्न प्रयोग गर्दै मौलिक कविता सिर्जना गरेका छन् । उनका यिनै साधना र सिर्जनाको उपज १५ कृति एकसाथ प्रकाशनमा आउन लागेका हुन् । ती हुन्– पद्यमञ्जरी, पद्यमालती, मद्यमाला, पद्यहार, पद्यपल्लव, पद्यकुञ्ज, भावमञ्जरी, अक्षराङ्कुर, शब्दांश, शब्दस्पर्श, शब्दतरङ्ग, शार्दूललालित्य, सुन्दर देश नेपाल, सारङ्गीको धुन र पाउँदीका गीत ।
यी कृति पेज टर्नर प्रा.लि., अनुपम सिर्जना प्रतिष्ठान नेपाल र कर्मदा सिर्जना मञ्च नेपालले प्रकाशनमा ल्याउन लागेका हुन् । सबै कृतिको मुख्य वितरक भने पेज टर्नर रहेको छ भने सबै कृतिकाे डिजाइन तथा ले-आउट भने सम्पादन हाउस प्रा.लि.मार्फत भएको छ ।
कवि जगदीश्वरको साधना-संघर्ष
आधुनिक सभ्यताको हावासम्म नचलेको युगमा लमजुङ जिल्लाको पाउँदी भन्ने ठाउँमा जन्मिएका हुन् कवि जगदीश्वर पोखरेल । उनलाई जीवनजन्य प्रवृत्तिमा समयले बाटो देखायो । सहज त थिएन जिजीविषाका धामा । बाल्यकाल गार्हस्थ्यका गोरखधन्दामै बित्यो भने आवश्यकताले बोझ पनि थप्दै गयो । यसबाट जीवन सहज बाटोमा चल्दैन भन्ने बोध उनलाई भयो ।
युवाकालमा प्रवेश गर्दै जागिर खाने सपना देखे कवि पोखरेलले । त्यतिवेलासम्म उनी कवि पनि भइसकेका थिएनन् । पढाइमा पनि कुनै खास योग्यता थिएन । गाउँकै जनजागृति मिडिल स्कुल र वीरभक्ति विद्यालयबाट छ कक्षासम्म पढे । त्यसपछि उनले २०२८ सालमा कष्टपूर्वक लोकसेवा आयोगको परीक्षा पास गरेर जागिर खाने अठोट गरे ।
उनले हुलाकी पदको परीक्षा दिए । भाग्यले साथ दियो । सफल भए । जागिर मिल्यो, हुलाकीको । २०३४ सालमा प्राइभेटबाट एसएलसी पनि पास गरे । २०३७ सालमा उनको पद महालेखा नियन्त्रक कार्यालयको सहलेखापालमा स्थापित भयो । त्यो जागिरको डोरीले उनलाई काठमाडौँतिर तान्यो । त्यो सानो जागिरबाट काठमाडौँको बसाइ सम्भव थिएन । मनमा चस्का पस्यो, अतिरिक्त काम नगरी यहाँ बाँच्न सकिन्न भन्ने बोध भयो ।
त्यसपछि उनले डेरामै तान राखेर श्रीमतीलाई समेत कपडा बुन्न सिकाए । रातमा थोरै सुतेर आफू पनि त्यो तानमा व्यस्त रहन्थे । कपडा बुन्ने सीपसँगै तेस्रो आँखा खुल्यो– साधारण लुगामात्र बुनेर हुन्न । पश्मिना कसरी बुन्ने ? त्यसको बजार कहाँ छ ? यिनै कुरातर्फ ध्यानमग्न रहे ।
नेपाली पश्मिनाको विश्व बजारमा धेरै माग छ भन्ने बुझेपछि पोखरेल दम्पती त्यसमै तल्लीन रहे । त्यो व्यवसायले आर्थिकस्तर पनि उकासियो । सानै पदको जागिर थियो, तैपनि उनले त्यसलाई माया गरेर पेन्सन पाउने हदसम्म पूरा गरे । साथसाथै स्नातक तहसम्मको अध्ययन पनि गरे ।
उनले यसरी आफ्नै बलबुतामा काठमाडौँको कलङ्कीमा घडेरी किने । घर बनाए । त्यो घरलाई कारखानामय बनाएर पश्मिना बुनी नै रहे । तीन छोरालाई पनि त्यही काममा निवृत्त गराए । कामजति छोराहरुलाई जिम्मा दिएर आफू लेखनमै समय बिताउन लागे । त्यसअघिसम्म साहित्यमा त्यति साधना गरेका थिएनन् ।
‘उमेरले साठीको नेटो काटेपछि बल्ल मलाई छन्दमा कविता लेख्ने धुन सवार भयो,’ कवि पोखरेलले छन्द साधनाको अनुभव यसरी सुनाए, ‘आफू लेखन र साधनामै व्यस्त रहन थालेँ, साहित्यिक गोष्ठी र कार्यक्रमतिर गइरहन थालेँ । कारखान र व्यवसायको धन्दा छोराहरुको काँधमा बिसाइसकेको थिएँ ।’
यसरी ६० को दशकदेखि निरन्तर छन्द साधना र लेखनमा तल्लीन कवि पोखरेलका यसअघि उनले ‘शार्दूलका पाइला’, ‘सुसाउँदो मस्र्याङ्दी’ र ‘फूलसरिको जीवन’ गरी ३ वटा कवितासङ्ग्रह प्रकाशित गरिसकेका छन् । प्रतिदिन एउटा कविता, विभिन्न छन्द र लोकलयमा लेख्दै जाँदा अहिले पन्ध्रवटा सङ्ग्रहलाई पुग्ने सामग्री पूरा भएपछि तिनको प्रकाशन एकैचोटि गर्न उत्साहित भएको उनले सुनाए ।
कवि जगदीश्वर आगामी दिनमा काव्य, खण्डकाव्य र महाकाव्य प्रकाशनमा ल्याउने योजनामा छन् । महाकाव्य त आधा लेखिसकेको र अन्तिम रुप दिन बाँकी रहेको उनी बताउँछन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।