बिरतापूर्वक नेपालीहरुले अंग्रेज सँग लडेको युद्ध तथा युद्धस्थल ‘नालापानी’को कथामा आधारीत रहेर ऐतिहासिक नेपाली चलचित्र ‘नालापानी’को राजधानीका विभिन्न स्थानहरुमा छायांकन भईरहेको छ । शुक्रबार नारायणहिटी दरबार संग्राहलयको उत्तरमा रहेको नेपाल आर्मीको गोरख गणको मैदानमा भव्य रुपमा छायांकन भएको थियो । शुक्रबारको छायांकनमा नेपालीसँग युद्द लड्न अंग्रेज फौज आउँदै गरेको दृश्य थिए ।
नेपाल आर्मीबाट प्राप्त झण्डै पचास वटा घोडा र करिब ३ सय हतियार सहितका फौज मैदानमा उतारिएको थियो जसलाई भिएफएक्सको माध्यमबाट हजारौँको संख्या देखाईने छ । उक्त दृश्य छायांकनमा पाँच वटा क्यामेरा प्रयोग गरिएको थियो । भिएफएक्सको अधिक प्रयोग हुने यस चलचित्रका सम्पूर्ण दृश्य छायांकनमा चलचित्रका सम्पादन टीम तथा भिएफएक्स टीम सँगै रहेर काम गरिरहेका छन् ।निर्देशक अधिकारीले नेपाल आर्मीको सहयोग र साथ बीना यस्तो प्रकारले चलचित्र छायांकन सम्भव नभएको बताए ।
‘नेपाल आर्मीले हामीलाई दिएको सहयोगप्रती कृतज्ञ छौँ । सम्भवत नेपालमा कुनै पनि चलचित्र यस प्रकारले छायांकन गरिएको थिएन, यो सबै नेपाल आर्मीकै देन हो’ । चलचित्रका निर्माता मनोज शाक्यले नेपालीको विर गाथासँग जोडिएको चलचित्रलाई नेपाल आर्मीले साथ दिएकोमा खुशी व्यक्त गरे ।
यसरी हुदैँछ ‘नालापानी’को सुटिङ, मैदानमा उतारियो अंग्रेज फौज
काठमाण्डौ र आसपासमा छायांकन सकिएपछि चलचित्र यूनिट उपरदाङ्ग गढी पुग्ने बताईएको छ । निर्देशक अधिकारीका अनुसार चलचित्रको छायांकन करिव तीन महिना सम्म लगातार चल्नेछ ।
हाल भारतमा अवस्थित देहरादुनको नालापानीमा सन् १८१४ मा नेपालले ब्रिटिश साम्राज्यविरुद्द नेपालले युद्द लडेको थियो । आफ्नो साम्राज्य विस्तार गर्दै भारतसम्म आइपुगेको तत्कालिन ब्रिटिश इष्ट इन्डिया कम्पनीले नेपालमा आफ्नो अधिपत्य कायम गर्न अघि बढेको समयमा त्यसलाई रोक्न नेपालले युद्द लड्नुपरेको थियो ।
त्यो समयमा नेपालमा पर्ने नालापानी आइपुगेको अंग्रेज सेनासँग नेपाली सेनाको मुठभेड भयो । तत्कालिन वीर गोरखाली सेना कप्तान बलभद्र कुँवरको नेतृत्वमा नेपालले अंग्रेजसँग बहादुरीपूर्वक लडाइँ लडेको थियो ।कमजोर सैन्य शक्ति, प्रविधि आदिका कारण उक्त लडाइँमा नेपालले विजय प्राप्त गर्न सकेन तर, नेपालले युद्दमा प्रस्तुत गरेको वीरता तत्कालिन शत्रुपक्ष र विश्व सैन्य इतिहासमै र हालसम्म पनि उच्च प्रशंसित भयो ।
उक्त लडाईँ नेपाली सेनाले तीन पटकसम्म जितेको थियो तर अंग्रेज फौजले चलाखी गरेर हराएको थियो । अंग्रेजले पानीको मुहान थुनिदिएपछि पनि लामो समय लडाईँ गर्दा गर्दै नेपाली सेना पछाडी हट्न बाध्य बनेको थियो ।बिषयमा आधारित रहेर प्राचार्य रामराजा कुँवर र प्रा। डा।धन बहादुर कुँवरले लेखेको ऐतिहासिक पुस्तक ‘वीर बलभद्र कुँवर’मा आधारित ’नालापानी’ बनिरहेको छ ।
यो चलचित्रको बजेट झण्डै ९ करोड रहेको छ । ‘नालापानी’मा देव गुरुङ्ग, देशभक्त खनाल, अर्जुनजंग शाही, मनोज शाक्य, बिशाल पहारी, बिजय बिष्फोट, पुजना प्रधान, ईशान बिजु श्रेष्ठ, हिक्मत थपलिया, जनक बर्तौला, विशाल श्रेष्ठ, गीता अधिकारी, गीता बिष्ट लगायतका कलाकारहरुको अभिनय रहनेछ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।