काठमाडौं । फिल्म ‘तिमी सँग’ को बुधबार साँझ राजधानीको कुमारी हलमा प्रिमियर शो गरिएको छ । चैत्र २३ देखि अल नेपाल प्रदर्शनमा आउने यो फिल्ममा साम्राज्ञी राज्य लक्ष्मी शाह, नाजिर हुसेन, आकाश श्रेष्ठको मुख्य भूमिका रहेको छ ।

यो फिल्मलाई प्रिमियरमा निकै रुचाइयो । फिवल्म क्षेत्रका स्थापित व्यक्तित्व देखि सञ्चारकर्मी सम्मको प्रिमियरमा उपस्थिती रहेको थियो ।
तीन दशक देखि नेपाली फिल्म क्षेत्रमा कार्यरत शिशिर राणाको निर्माण तथा निर्देशन रहेको यो फिल्मलाई पर्दामा नियाली सकेपछि अधिकांश आमन्त्रित अतिथि दर्शकले अभिनेता नाजिरको अभिनयको प्रशंसा गरेका थिए ।
अभिनेत्री करिष्मा मानन्धरले फिल्म राम्रो बनेको प्रतिक्रिया दिइन् । उनले फिल्म हेरिरहदा नेपालका थुप्रै दृश्यले आफूलाई लोभ्याएको तर्क गरिन् ।
यता फिल्मकी अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाहले फिल्म हेरिरहदा कतिपय ठाउँमा आफै भावुक बनेको बताइन् । त्यस्तै अभिनेता नाजिर हुसेनले फिल्म हेरिरहदा अडियन्सबाट पाएको हुटिङ आफ्नो सुखद क्षण रहेको बताए ।
फिल्ममा गेष्ट अपिरियन्सको रुपमा दीपकराज गिरी, दीपाश्री निरौला, सुनिल थापा, करिष्मा मानन्धर, निखिल उप्रेतिले समेत अभिनय गरेका छन् ।
निर्देशक तथा निर्माता शिशिर राणा प्राप्त प्रतिक्रियाबाट दङ्ग देखिन्थे । उनले दुई वर्ष लगाएर गरेको मिहेनतको फल चाख्ने बेला आएको भनाइ राखे ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।