काठमाडौं। चैत्र ९ गतेबाट नेपालमा रिलिज भएको चलचित्र ‘शत्रु गते’को जापानमा पनि शो हुने भएको छ । जापानमा अप्रिल ८ तारीख चलचित्र ‘शत्रु गते’को शो हुन लागेको हो । बहुप्रतिक्षित मानिएको यो चलचित्रलाई एवान इन्टरटेन्मेन्टले जापानमा प्रदर्शन गर्न लागेको छ ।
उक्त चलचित्र जापानको राजधानी टोकियोस्थित नाकानो जिरो हलमा प्रदर्शन हुने ए वान ईन्टरटेनमेन परिवारले बताउनु भयो । चलचित्र टोकियोसहित नागोया, फुकुओका, सिजोओका,गुन्मा, तोचिगी, ओकिनावा लगायतका स्थानमा समेत प्रदर्शन गरिने तयारी छ । नायक पल शाह जापान जाने भएको छ । उनलाई आज नेपालस्थित जापानी दूतवासले जापान जाने स्वीकृति दिएको छ ।
पल चलचित्र ‘शत्रु गते’ प्रदर्शनका लागी जापान जान लागेका हुन् । कमेडी जनरामा सामाजिक कथा बोकेको चलचित्र ‘शत्रु गते’मा निर्देशक प्रदिप भट्टराईले चलचित्र बिवाहमा बाधक बन्ने पात्रहरुको वरिपरि घुमाएका छन् ।
चलचित्रमा पल शाह, आँचल शर्मा, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, बसुन्धरा भुषाल, राजाराम पौडेल, दीपकराज गिरी, दिपाश्री निरौला, शिवहरी पौड्याल, किरण केसी, प्रियंका कार्कीको मुख्य अभिनय रहेको छ ।
हरिवंश आचार्यको कथा, दीपकराज गिरी र निर्देशक भट्टराईको पटकथा रहेको यो चलचित्रलाई दीर्घ गुरुङले खिचेका हुन् । चलचित्रमा राजनराज शिवाकोटीको संगीत र कविराज गहतराजको नृत्य रहेको छ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।