- देवराज पन्त,
मकवानपुर । मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा फागुन १८ गतेबाट हेटौंडाको क्याम्पा चौरमा भइरहेको राष्ट्रिय औद्योगिक व्यापार मेलाको आज नवौ दिनमा दर्शकहरुको उल्लेख्य मात्रामा उपस्थिति रहेको थियो । दैनिक साँगितिक कार्यक्रमको साथमा सञ्चालन भइरहेको मेलामा आज (आइतबार) गायक राजनराज सिवाकोटीले पूर्व पश्चिम रेल,चेप्टे चेप्टे पेरुंगो, टाकन टुकुन ट्वाक्क, चट्ट परी हुरुरु खोली तिरै तिर, सुर्के थैली खै, कुटुमा कुटु, गोजीमा दाम छैन, चिरविर चिरविर चाँचरी जस्ता गीतहरु गाएका थिए ।
त्यस्तै लोकदोहारी गायक शिव हमाल र प्रतिमा अर्यालसँग सेतो घोडा ए है जोडा भाकामा दोहोरी प्रस्तुत गरेका थिए । आजको साँगीतिक कार्यक्रममा हेटौंडाका गायक तथा संगीतकार चेतन सापकोटा र सुजिल कर्माचार्यले पनि आफ्नो जोडदार प्रस्तुति दिएका थिए ।
भोलि सोमबार हिजोआज चर्चित हुन सफल गीत सालको पातका गायक कुलेन्द्र विक र काउली बुढी (सन्ध्या बुढा) ले आफ्नो साँगितिक प्रस्तुति दिने संघका उपाध्यक्ष तथा मनोरञ्जन समितिका संयोजक गणेश भेटुवालले बताएका छन् ।
आजको मेलामा करीब १५ हजार दर्शकले अवलोकन गरेको र आजसम्म करीब २ करोड ७५ लाख बराबरको कारोबार भएको संघका सचिव तथा प्रवत्ता काव्यमणि अधिकारीले जानकारी गराएका छन् । मेलामा बाल उद्यान, कृषि, पर्यटन, निशुल्क स्वास्थ्य शिविर जस्ता प्रदर्शनीमा रहेको छ । मेला स्थलमा करीब ४ सय ५० स्टल रहेका छन् ।
मेला आगामी फागुन २८ गतेसम्म हुने भनिएकोमा आयोजकका अनुसार दर्शकको मागअनुसार एकदिन थप गरी फागुन २९ गते बुधबारसम्म सञ्चालन हुने संघका अध्यक्ष कृष्ण कटुवालले बताएका छन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।