काठमाडौं । प्रदीप भट्टराईको निर्देशनमा बनेको कमेडी फिल्म ‘जात्रै जात्रा’ प्रदर्शनरत छ । यो फिल्म रिलिज भएको १० दिन भइसकेको छ, भने दर्शकहरुको राम्रो साथ पाइरहेको छ । अझैं पनि हलमा ६० देखि ७५ प्रतिशतसम्म अकुपेन्सी राखिराखेको कलाकार राजाराम पौडेलले बताउनुभएको छ ।

प्रदर्शनरत फिल्म ‘जात्रै जात्रा’ र आफ्नो करियरको बारेमा अन्तरंग कुराकानी गर्न लागि न्युज २४ टेलिभिजनले आफ्नो नियमित प्रस्तुति ‘६ प्रश्न’ मा कलाकार राजाराम पौडेललाई स्टुडियोमा निम्त्याएको थियो ।
प्रदर्शनरत फिल्म जात्रा सिक्वेलको बारेमा टिभी जर्नलिष्ट अञ्जुला बानियाँसंग कुराकानी गर्दै फिल्म चल्नका लागि कन्टेन्ट नै राम्रो हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो ‘पहिलो कुरो कन्टेन्ट नै राम्रो हुनुपर्छ । कन्टेन्ट राम्रो भएपछि कन्टेन्टमा प्ले गर्ने कलाकारहरुले सुनमा सुगन्ध थप्ने काम गर्छन् । कलाकारले मात्रै फिल्म चल्दैन ।’
कलाकारलाई के–कसरी छनौट गरिन्छ भन्ने प्रश्नमा उहाँले भन्नुभयो, ‘कसैले फिल्मको स्क्रिप्ट लेख्दै जाँदा म्याच गरेका कलाकार छनौट गर्छन् । त कुनै–कुनै स्क्रिप्ट चाँही पात्रलाई नै कल्पना गरेर लेखिएको हुन्छ ।’
निर्माता समेत रहनुभएका पौडेलले भन्नुभयो, ‘मेरोसमेत लगानी भएको फिल्म ‘सय कडा दश’लाई हेर्ने सबै दर्शकहरुले राम्रो फिल्म भएको प्रतिकृया दिए । तर हलसम्म खासै दर्शकहरु गएनन् । यो फिल्मको स्क्रिप्ट राम्रो लागेको कारण मैले पनि लगानी गरेको हुँ ।’
उहाँका अनुसार ‘जात्रै जात्रा’ कमेडी फिल्म भएतापनि बलजफ्ती कसैलाई पनि हसाँएको छैन । उहाँले थप्नुभयो, ‘मुख्य कलाकार विपिन कार्की पनि कमेडियन होइनन्, बर्षा राउत र रवीन्द्र सिंह बानियाा पनि कमेडियन होइनन्, तर कथाको कन्टेन्टले राम्रो ह्युमर ल्याएर आएको छ । त्यही रमाइलो लाग्छ । त्यहाँ कुनै पनि कलाकारले आर्टिफिसियल नक्कल गरेका छैनन् । सबै नेचुरल छ । त्यसैले पनि दर्शकहरुले मन पराएका हुनसक्छ ।’
उहाँले आफू कमेडियन हुनुमा गर्व लाग्ने बताउनुहुन्छ । ‘दर्शकहरुको जजमेन्टलाई धन्यवाद भन्नुपर्छ । कलाकार कलाकार नै हुन् । सबै अभिनय गाह्रै हुन्छ, त्यसमध्ये पनि कमेडियन हुनु अझै गाह्रो छ’, उहाँले भन्नुभयो, ‘कमेडियनमा चनाखो दिमाग भइराख्नुपर्छ । आफूले देखे सुनेको आकर्षक कुराहरुलाई पनि कथामा घुसाइहाल्नुपर्ने हुन्छ ।’
बाँकी कुराकानी भिडियोमा हेर्नुहोस्ः
[embedded content]यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।