काठमाडाैं । चलचित्र समीक्षाको विषयलाई लिएर ‘साइबर क्राइम’ अभियोगमा थुनामा रहेका प्रनेश गौतम हाजिरी जमानतमा रिहा भएका छन्। प्रहरी स्रोतका अनुसार बिहीबार राति ८ बजेतिर शुक्रबार बिहान उपस्थित हुने गरि थुनामुक्त गरिएको थियो ।
अहिलेलाई गौतमलाई लिएर उनका बुवा प्रहरी परिसर काठमाडौं पुगिसकेका छन् । युट्युबमा चलचित्रको व्यंग्यात्मक समीक्षा गरेका मेमे नेपालका सञ्चालक गौतमलाई प्रहरीले साइबर अपराधको अभियोगमा गत शुक्रबार पक्राउ गरेकाे थियाे।
साइबर क्राइम अभियोगमा उनमाथि प्रहरीले अनुसन्धान गरेर प्रतिवेदन सरकारी वकिल कार्यालयमा बिहीबार नै पठाइसकेको छ। सरकारी वकिल कार्यालयको प्राप्त निर्देशन अनुसार प्रहरीले मुद्दाको प्रक्रिया अघि बढाउनेछ।
चलचित्र ‘वीर बिक्रम २’को भिडियो समीक्षा गरेका प्रनेशलाई निर्देशक मिलन चाम्सको उजुरीका आधारमा प्रहरीले पक्राउ गरेको थियो। निर्देशकको मान प्रतिष्ठामा खलल पुर्याउने, चलचित्रको व्यापार व्यवसायमा घाटा पुर्याउने, झुठ्ठा प्रचारप्रसार गरी गाली गलौज गर्ने, कलाकारको मान प्रतिष्ठामा आँच पुर्याउने, जबरजस्ती राम्रो छ भन्न लगाउने र चलचित्रको बदनाम समेत गरेको उजुरीमा उल्लेख छ।
पक्राउपछि गौतमलाई विद्युतिय कारोबार ऐन अन्तर्गत अनुसन्धान कारबाहीको लागि महानागरीय प्रहरी परिसर काठमाडौं पठाइएको थियो।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।