काठमाडौं । यस वर्ष चलचित्र विकास बोर्डको वार्षिकोत्सवको अवसरमा ‘राष्ट्रिय चलचित्र पुरस्कार’ प्रदान गरिने भएको छ । गत तीनवर्षदेखि रोकिएको ‘राष्ट्रिय चलचित्र पुरस्कार’ ले निरन्तरता पाउने भएको हो।
विकास बोर्डका अध्यक्ष केशव भट्टराईले यो पुरस्कारलाई निरन्तर दिने भएका छन् । हरेक वर्ष राष्ट्रपतिको हातबाट राष्ट्रपति भवनमा ‘राष्ट्रिय चलचित्र पुरस्कार’ प्रदान गरिदै आएको थियो तर तीन वर्षदेखि भने उक्त पुरस्कार रोकिएको छ। आउँदो असार २७ गते तीन वर्ष (०७३, ०७४ र ०७५) को ‘राष्ट्रिय चलचित्र पुरस्कार’ एकसाथ राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट प्रदान गर्ने तयारी भइरहेको बताइएको छ। पुरस्कार वितरण सम्बन्धी आधिकारिक जानकारी भने असार १७ गते बोर्डको १९औं वार्षिकोत्सवमा गराइने भएको छ ।
बोर्डको वार्षिकोत्सवमा चलचित्र क्षेत्रमा योगदान पुर्याइरहेका १० जना चलचित्रकर्मीलाई सम्मान प्रदान गरिने जनाइएको छ । उक्त अवसरमा १० वटा पुराना फिल्महरु डिजिटलाईजेशन गरेर बोर्डमा प्रदर्शन गर्ने तयारी रहेको छ । प्रदर्शन गरिने फिल्महरु ‘आमा, परिवर्तन, हिजो आज भोली, मनको बाँध, बलिउँदो आकाशसंगै के घर के डेरा, सिन्दुर, शान्तिद्धिप, जिवन रेखा, कुमारी’ रहेका छन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।