काठमाडौं । लामो समयसम्म विवादमा परेका स्वतन्त्र मधेश अभियनका लिडर एवं अभियान्ता डा सिके राउतको जीवनीमा आधारित नेपाली फिल्म निर्माण हुने भएको छ । माँ राधिका इन्टरटेन्मेन्टको ब्यानरमा ‘डा सिके राउत’ नामको फिल्म दुई दर्जन बढी भोजपुरी फिल्मको क्याप्टेनसिप सम्हालिसकेका सन्तोष शाहको निर्देशनमा बन्ने भएको हो ।
मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमबीच यस्तो घोषणा गरिएको थियो । भोजपुरी फिल्मका ‘पावर स्टार’ को रुपमा परिचित परदेशी शाहले डा सीकेको भुमिका निभाउने कुरा फिल्मको औपचारिक निर्माण घोषणासँगै सार्वजनिक भएको हो । फिल्मको टिजर पनी सार्वजनीक गरिएको छ ।
सिके राउत स्वयं उपस्थितिमा फिल्मको घोषणा सभामा समापन गरिएको थियो । विरगञ्ज, जनकपुर, काठमाडौंलगायतका स्थानमा फिल्मको भदौबाट छायांकन हुने छ भने आउँदो छठ पर्वमा रिलिज हुने छ ।
पवन गौतमले खिच्ने फिल्ममा रामजी लामिछाने र लिगेश भट्टराईको कोरियोग्राफी रहनेछ । बन्दे प्रसादले फिल्मको सम्पादन गर्ने जिम्मेवारी पाएका छन् । ‘डा सिके राउत’ मा पुकार भट्टराई, ध्रुव कोइराला, विशाल पहारी, किरण थापा, राजिव कर्णलगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । फिल्ममा अभिनेत्रीको भने टुंगो लागेको छैन ।
रेवन्त विक्रम थापाको द्वन्द्व निर्देशन रहने फिल्मलाई कमर्शियल बनाउन सिके राउतको जीवनको ५० प्रतिशत र बाँकी काल्पनिक कथा जोडिने बताइएको छ । मधेस आन्दोलनका घटना फिल्ममा उतारिने डा सीके राउतले बताए ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।