काठमाडौं । नेपाल माझी उत्थान संघ दमक, नेपाल माझी युवा संघ र विद्यार्थी संघको संयुक्त आयोजनामा माझी भाषी फिल्म ‘मोङो डोङा–२’लाई दमकमा प्रदर्शन गरिएको छ । गत शुक्रबार मेची शहकारी संस्थाको भवनमा ‘मोङो डोङा–२’को विशेष शोको आयोजना गरिएको हो । ‘मोङो डोङा–२’ हेर्नका लागि दुई सय भन्दा बढी दर्शकहरु सहभागी भएका थिए ।
विशेष शोमा उपस्थित फिल्मका मुख्य कलाकारहरुलाई सम्मान तथा मायाको चिनो प्रदान गरिएको छ । रामेछाप र काभ्रेका विभिन्न ठाउँमा छायाँकन गरिएको ‘मोङो डोङा–२’मा यमन माझी, सुन्जीत माझी, बाबुराम माझी, अनिशा माझी, सीता माझी, सुरेश माझी, सुजन माझी, रीता माझी लगाएत मुख्य भूमिकामा छन् ।
माझी जातिको भाषा, संस्कृति, शिक्षा, आर्थिक अवस्था र उनीहरुको रहन–सहनलाई प्रस्तुत गरेको ‘मोङो डोङा–२’लाई सुन्जीत माझीले निर्देशन गरेका हुन्, भने लोक बहादुर माझी, सुजन माझी, सुरेश माझी, रीता माझी लगाएतले निर्माण गरेका हुन् । माझी भाषामा ‘माङो डोङा’ भन्नाले ‘मेरो ढुङ्गा’ भन्ने अर्थ लाग्छ ।
फिल्ममा गायक तथा अभिनेता यमन माझीले संगीत भरेका छन् । दमक लगायत शिबसताक्षी नगरपालिका र कमल गाउँपालिकाको विभिन्न स्थानहरुमा २८ गते शनिबारसम्म फिल्म प्रर्दशन गरिने जानकारी गराइएको छ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।