काठमाडौं । नेपाली गीत–संगीत उद्योगमा वरिष्ठ गीतकार तथा साहित्यकार राजेन्द्र थापा अझैँ पनि सक्रिय हुनुहुन्छ । प्रेमध्वज प्रधानको आवाज रहेको कालजयी गीत ‘पर लैजाउ फूलहरु’, अरुणा लामाको आवाजमा सजिएको ‘पोहोर साल खुसी’ देखि पछिल्ला सिर्जनाहरु फिल्म ‘नोटबुक’को ‘गाला रातै’, दीपकराज गिरी र दीपाश्री निरौलाको आगामी फिल्म ‘छ माया छपक्कै’को ‘जुनको जुनेली’ लगायतका गीतहरुका सर्जक थापाले नेपाली सेनाको जागिरबाट भर्खरै अवकाश लिनुभएको छ । न्युज २४ टेलिभिजनले नियमित प्रस्तुति ‘छ प्रश्न’मा उही बरिष्ठ गीतकार थापासँग टिभी जर्नलिष्ट अञ्जुला बानियाँले अन्तरंग कुराकानी गरेकी छिन् ।
कुराकानी गर्नेक्रममा गीतकार थापाले आफू नेपाली सेनाको जागिरबाट अवकाश भएपछि नेपाली गीत संगीतको क्षेत्रमा झनै सक्रिय भएको बताउँदै उहाँले भन्नुभयो– ‘मेरो लाइफको रिटायर्ड भएको छैन् । त्यो सेवा (नेपाली सेना)बाट मात्र रिटायर्ड भएको हुँ । मैले जुन समयमा गर्नुपर्ने थियो मैले त्यो गरेँ । अहिले त्यो क्षेत्रबाट अवकाश लिएर अर्को क्षेत्रमा सक्रिय छु ।’
आफ्नो सांगीतिक यात्रालाई सम्झँदै उहाँले भन्नुभयो– ‘म कलेज पढ्दै गर्दा मेरो गीतहरु रेकर्ड भइसकेको थियो । त्यतिबेला मेरो गीतहरु चर्चित भइसकेका थिए । अहिले आएर पचास वर्ष पूरा भएको छ । गीत भएको सीधा जनतासँग पुग्ने एउटा विधा हो । त्यतिखेर रेडियो नेपालबाट सीधा जनतासँग पुगिन्थ्यो । ३० औं दशकका गीतहरु ‘पोहोर साल खुसी फाट्दा’, ‘पर लैजाउ फूलहरु’ गीतले अर्कै स्कोप बनाइदियो । त्यसपछि दश–दश वर्षको अन्तरालमा दर्शक÷श्रोताहरु परिवर्तन हुँदै आए र मेरो गीतहरु पनि परिवर्तन हुँदै आए । र, आजको पुस्तालाई हुने गीतहरु पनि मैले लेखिरहेको छु ।’
उहाँले थप्नुभयो– ‘मैले ४५ वर्ष पहिले लेखेको गीतहरु ‘पर लैजाउ फूलहरु’, ‘पोहोर साल खुसी’ र अहिलेका गीतहरु ‘पहिलो नम्बरमा’, ‘क्या दामी भो’, ‘गाला रातै’ गीतहरु पनि एउटै घरमा सुनिरहेका छन् ।’
बाँकी रोचक कुराकानी भिडियोमा हेर्नुहोस्ः
[embedded content]यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।