काठमाडौं । एक लाइने कविता (एलाक) का प्रवर्तक मानिएका साहित्यकार डम्बर पहाडीको दोस्रो नाट्य कृति ‘मुक्ति र चाहना’ सार्वजनिक भएको छ । साहित्य सन्ध्याको मासिक श्रृंखला अन्र्तगत साहित्यकार प्रा.डा. जीवेन्द्रदेव गिरीलगायतले पहाडीको नाट्य कृति सार्वजनिक गर्नु भएको थियो ।
इलाममा जन्मिएर इलामको नाट्य जगत र साहित्यको विकासमा प्रशस्त योगदान गरेका पहाडीले विक्रम सम्वत २०४८ सालमा ‘नझुकेको स्वाभिमान’ नाटक प्रकाशन गरेका थिए भने विक्रम सम्वत २०६० सालमा ‘प्रहर’ कविता संग्रह प्रकाश गरिएको थियो ।
नाट्य कृति ‘मुक्ति र चाहना’ दोभान प्रकाशनका लागि बालिका गिरीले प्रकाशन गर्नु भएको हो । यस नाटक ११ दृश्यमा समेटिएको छ । प्राध्यापन पेशामा पनि समर्पित पहाडीले कार्यक्रममा समाज सचेत भएपछि जातीय विभेद जस्ता समाजमा रहेका चरम कलंक निर्मुल हुने विश्वास गर्नुभयो ।
नाट्य कृति सार्वजनिक कार्यक्रममा काठमाडौंको रत्नराज्यलक्ष्मी क्याम्पसका सहायक प्रमुख डा. हरिप्रसाद सिलवालले पहाडीको लेखनको प्रशंसा गर्दै उनको लेखनको निखारपन यो नाटकमा देखिएको चर्चा गर्नुभयो ।
कार्यक्रममा सांसद खेम नेपाली, सानु सिवा, साहित्यकार धरणीप्रसाद गौतम, प्राज्ञहरू अशोक राई, नन्दु उप्रेतीलगायत आआफ्नो भनाइ राख्दै बिभिन्न कविहरूले कविता वाचन समेत गरेका थिए ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।