- भगतराम थारु
नेपालगन्ज ०६ असोज । बाँकेमा द नेक्स्ट मोडेल बाँके प्रतियोगीता हुने भएको छ । आउदो कात्तिक महिनामा बाँकेका विभिन्न शहरहरुमा द नेक्स्ट मोडेल बाँके प्रतियोगिता सञ्चालन हुने भएको हो ।
कला र साहित्यमा अग्रस्थानमा मानिने ५ नम्बर प्रदेशलाई थप कला र साहित्यको उर्वर भुमिका रुपमा परिचित गराउन द नेक्स्ट मोडेल बाँके सञ्चालन गरिन लागेको आयोजक टिमले जानकारी गराएको छ । ५ नं. प्रदेशमै पर्ने बाँके जिल्लालाई विशेष केन्द्रित गर्दै आसपासका जिल्लाहरुलाई लक्षित गरी मोडलिङ प्रतियोगिताको आयोजना गरिन लागिएको हो ।
नगर युवा सञ्जाल कोहलपुर बाँकेद्वारा सञ्चालित तथा बिग नेपाली फिल्मस्को प्रस्तुतिमा द नेक्स्ट मोडेल बाँकेको आयोजना रहेको छ । प्रतियोगितामा प्रतियोगीहरुले विभिन्न ठाउँहरुबाट अडिसनको लागि आवेदन लिन सकिने नगर युवा सञ्जाल कोहलपुर बाँकेका अध्यक्ष रमेश विसीले एक विज्ञप्ती प्रकाशित गर्दै जानकारी गराउनुभएको छ ।
मोडलिङ प्रतियोगिता स्थानीय स्तरबाट नभइ राष्ट्रिय स्तरबाटै आयोजना गरिएको हुँदा प्रतियोगितामा भाग लिने प्रतियोगीको लागि अवसर मिल्ने द नेक्स्ट मोडेल बाँकेका एमडी विशाल नेपालीले जानकारी दिनुभयो ।
बाँकेको पहिचानका लागि गरिएको कार्यक्रमलाई सफल बनाउन कोहलपुर नगरपालिका, उद्योग वाणिज्य संघ कोहलपुर र होटल व्यवसाय संघ कोहलपुर तथा अन्य जिम्मेवारी संघ संस्थाले सहयोग गर्ने प्रतिवद्धता गरेको आयोजक टिमका संयोजक समेत रहेको विशाल नेपालीले जानकारी दिनुभयो । प्रतियोगिहरुको क्षमता अभिबृद्धिको सहि तरिकाले मूल्याङ्कन गर्न निर्णायकको भुमिका निर्वाह गर्नका लागि राष्ट्रिय स्तरका कलाकार रहने भएका छन् ।
अडिसन मिति कार्तिक १, २, ८ र ९ गते हुनेछ । कोहलपुरको लागि रोयल फिटनेश क्लव र दश बिगहाको अन्नपूर्ण होटेलमा र नेपालगञ्जको लागि सिद्धार्थ एस क्याफे र सुर्खेतको लागि मेलकुना भोटेचौर र सारे मालारानीमा पाइने व्यवस्था गरिएको छ ।
प्रतियोगितामा भाग लिएका प्रतिस्प्रर्धी मध्यबाट विजेता हुने प्रतियोगीलाई नगद एक लाख रुपैया र चर्चित गायक कमल खत्रीको गीतमा म्यूजिक भिडियो खेल्ने अवसर मिल्ने डाइरेक्टर नेपालीले भन्नुभयो । प्रतियोगिताको पहिलो राउड ट्रेनिङ राउण्डबाट सुरु हुने आयोजकले जनाएको छ ।
त्यसपछि ट्यालेन्ट राउण्ड, च्यालेन्ज राउण्ड र फाइनल राउण्ड हुने आयोजक टिमले जानकारी गराएको छ । टप ५ फाइन्लिस्ट प्रतियोगिले विभिन्न किसिमका आकर्षक उपहारहरु पाउने आयोजकले जनाएको छ । प्रतियोगितामा भाग लिन चाहने प्रतियोगिका लागि १ हजार रुपैयाको फर्म शुल्क लाग्ने आयोजक टिमले जनाएको छ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।