- अमर काफ्ले
इनरुवा, १७ असाेज । विगत सात वर्षदेखि दशैँमा इनरुवालाई नचाउँदै आएको सांगीतिक कार्यक्रम मेघा रिदम ईभ यसपटक मुस्किलले सञ्चालनमा आउँदै छ ।
नगरपालिका, वडा तथा स्थानीय संघ-संस्था र दाताबाट जुटेको सहयोगबाट यसअघिका वर्षमा सांगीतिक कार्यक्रम हुँदै आएकोमा यसपटक भने आयोजकलाई सहयोग जुटाउन निकै पापड बेल्नु परेको छ ।

इनरुवा नगरपालिका, वडा नम्वर ३ सहित स्थानीय संघसंस्थाबाट सहयोग नजुट्दा आयोजक इनरुवा इभेन्ट म्यानेजमेन्टले यस पटकको कार्यक्रमलाई जेनतेन धानेर सञ्चालनमा ल्याउन लागेको छ ।
इनरुवा इभेन्ट म्यानेजमेन्टले दशैंको अवसरमा इनरुवामा राष्ट्रिय ख्याति प्राप्त गायकहरु बोलाएर सांगीतिक कार्यक्रम आयोजना गर्दै आएको छ । यसपटक दशैंको अष्टमी अर्थात् असोज १९ गते साँझ महेन्द्रचौकमा आयोजना हुने आठौं मेघा रिदम ईभमा गायक सविन राई सहितको प्रस्तुति रहने छ ।
कार्यक्रमका लागि आर्थिक सहयोग संकलनमा कठिनाइको सामना खेपे पनि आयोजकले मनोरञ्जनात्मक कार्यक्रममा निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको जनाएको छ । इनरुवा इभेन्ट म्यानेजमेन्टका अध्यक्ष राकेश निरौलाले कठिनाइका बाबजुद कार्यक्रम आयोजना गर्न लागिएको बताए । कार्यक्रम आयोजनाबाट हात झिकिसकेको अवस्थाका बीच म्यानेजमेन्टले शुभचिन्तक लगायतको आग्रहमा कार्यक्रम संचालन गर्न लागेको हो ।
धरान र इटहरीजस्ता ठूला शहरहरुमा मात्रै सीमित सांगितिक कार्यक्रमलाई इनरुवामा समेत स्थापित गराउन मेघा रिदम ईभले महत्वपूर्ण भूमिका खेल्दै आएको बताउने कार्यक्रम संयोजक सुशान्त बस्नेतले सरोकारवालाहरुबाट सहयोग उपलब्ध नहुनु र बेवास्ता गर्नुलाई दु:खद विषय भएको बताए ।
दशैंको अवसरमा यसअघि इनरुवा इभेन्ट म्यानेजमेन्टले इनरुवामा आयोजना गरेको कार्यक्रममा दीपक बज्राचार्य, प्रनिल तिमल्सिना, नारद खतिवडा, रेखा शाह, सञ्जय श्रेष्ठ, एमटी डडद्धड, अतृप्त बैण्ड, रोविन एण्ड द न्यू रिभोलुसन, मनोज गजुरेल, नविन के भट्टराई, कुटुम्ब, कन्दरा र मङ्गोलियन हर्टले सांगितिक प्रस्तुति दिइसकेका छन् ।
इनरुवाका लागि सांगीतिक माहौल जमाउने कार्यक्रमका रुपमा रहेको मेघा रिदम इभ आर्थिक सहयोगको अभावमा परेकाले आउँदा वर्षमा यसले निरन्तरता पाउने सम्भावना क्षीण देखिंदै गएको छ । स्वयं आयोजकले समेत यसपटकको कार्यक्रमलाई सायद अन्तिमपटक भनिरहेको छ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।