चितवन । यतिखेर नेपाली चलचित्र ‘छ माया छपक्कै’को चर्चा चुलिएको छ । चर्चासँगै टिमले उपत्यका बाहिरको दर्शकको प्रतिक्रिया बुझ्न चितवन पुगेको छ । टिमले आज चितवनका विभिन्न हलहरुमा दर्शकसँग भेट गरेका छन् ।

चितवनको क्यु एफएक्स जलमा, ईन्द्रदेव मन्दिर नारायणगढ, चितवन सिनेप्लेक्स सिजी ल्याण्डमार्क, म्याङ्गो जनज्योती सिनेमा पर्सा लगायतको हलमा पुगेर चलचित्र युनिटले दर्शकहरुसँग साक्षात्कार गरेका छन् । यस्तै उनीहरुले केहीबेर दर्शकसँगै बसेर फिल्म समेत हेरे ।
चलचित्र युनिट हलहलमा पुग्दा दर्शकहरुले कलाकारलाई घेरेका थिए । हल भित्र दर्शकहरुले घेरेपछि कलाकारहरुलाई बाहिर निक्लन हम्मेहम्मे परेको थियो । दर्शकहरुले चलचित्र उत्कृष्ट बनेको प्रतिकृया दिएका थिए । यस्तै उनीहरुले आगामी दिनमा पनि यो टिमबाट यस्तै चलचित्रको अपेक्षा रहेको बताएका थिए ।
फिल्मका कलाकार दीपकराज गिरीले दर्शकहरुसँग साक्षात्कारसँगै प्रतिकृया लिन र धन्यवाद ज्ञापन गर्नका लागि चितवन आएको बताए । उनले चितवनका दर्शकहरुले चलचित्रलाई धेरै मन पराइदिएको भन्दै खुशी व्यक्त गरे । यस्तै चलचित्र बारे सामाजिक सन्जालमा केही राजनीतिक बिषयलाई उठाएर भइरहेको आलोचनालाई सामान्य रुपमा लिएको उनले बताए ।
चलचित्रकी सल्लाहकार निर्देशक निरौलाले चितवनको माया र साथले अझै उर्जा मिलेको बताइन् । उपत्याकापछि चलचित्रलाई धेरै माया गर्ने र धेरै व्यापार गर्ने जिल्लामा चितवन पर्ने भन्दै निरौलाले ‘छ माया छपक्कै’ लाई चितवनका दर्शकहरुले अत्याधिक माया दिएकोमा खुशी व्यक्त गरिन् ।
कलाकार जितु नेपाल, केदार घिमिरे, केकी अधिकारी र शिव पौडेलले चितवनबाट धेरै माया पाएको भन्दै दर्शकहरुलाई धन्यवाद दिए । केकीले लामो समयपछि आफ्नो काम सोचेको भन्दा धेरै माया र साथ पाएकोमा खुशी व्यक्त गरिन् । यो सफलताले आगामी दिनका लागि झनै जिम्मेवारी बढेको भनाइ राखिन् ।
दीपेन्द्र लामाले निर्देशन गरेको चलचित्रमा राजनीतिक द्वन्द्वले प्रेममा पार्ने प्रभावको कथा रहेको छ । चलचित्रमा दीपकराज गिरी, केकी अधिकारी केदार घिमिरे, जितु नेपालका अलवा सुपुष्पा भट्ट, अनुराग कुँवर, प्रकाश घिमिरे, रमा थपलिया, विष्णु सापकोटा लगायतका कलाकारहरुको अभिनय छ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।