- रोशन दानी,
काठमाडौं । महानगरीय प्रहरी अपराध महाशाखा टेकुले गायक दुर्गेश थापालाई नियन्त्रणमा लिएको छ । तिहारको छेको पारेर सार्वजनिक गीत ‘ह्याप्पी तिहार, चिसो बियर’ मा प्रयोग गरिएको शब्दका कारण विवादमा तानिएका गायक तथा मोडल थापाविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेको थियो ।
महानगरीय अपराध महाशाखाका एसएसपी सहकुल थापाले ‘ह्याप्पी तिहार, चिसो बियर’ बोलको विवादित गीतका विषयमा परेको उजुरीका आधारमा थापालाई नियन्त्रणमा लिइएको बताए । थापाले भने, ‘सामाजिक मूल्य मान्यता विपरित गीत गाएर समाजलाई गलत सन्देश दिने काम कानून विपरित हो । त्यसैले उनलाई नियन्त्रणमा लिएका छौं ।’ गायक थापालाई बालाजुबाट नियन्त्रणमा लिइएको उनले बताए ।
दुर्गेश थापाले सार्वजनिक गरेको ‘ह्याप्पी तिहार, चिसो बियर’मा ‘ए निकाल गाँजा, खानुपर्छ आज’ भन्ने जस्ता शब्द प्रयोग भएका छन् । उक्त गीत हटाउनुपर्ने माग गर्दै जिल्ला प्रशासनमा उजुरी परेको छ ।
तीजको समय ‘बीच्च बीच्चमा’ बोलको गीत निकालेर चर्चामा आएका दुर्गेशको सो गीतबाट प्रदर्शनरत फिल्म ‘छ माया छपक्कै’टिमले प्रमोशनल गीत नै बनाएको छ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।
