काठमाडौं, ३ मंसिर । बुद्ध ईन्टरटेनमेन्टको ब्यानरमा निर्माणमा भएको चलचित्र ‘शुभ लभ’ यही नोभम्बर अन्तिममा अल युरोप प्रदर्शनमा लगिने भएको छ ।
आगामी डिसेम्बर, जनवरी र फेब्रुअरीभरि युरोपभरि प्रदर्शन गरिने निर्माता तथा निर्देशक सन्तोष लोहनीले जनाए ।
नेपालमा मध्यम व्यापार गरेको यो चलचित्रले युरोप प्रदर्शन राम्रो हुने लोहनीको विश्वास छ । युवा ज्योतिष हरिहर अधिकारी र २०१७ की मिस टिन क्रिस्टिन पौडेलको मुख्य अभिनय रहेको उक्त चलचित्रमा पूराना कलाकारहरु रविन्द्र झा, राजाराम पौडेल, अनोज पाण्डे र सरोज खनालको पनि भूमिका छ ।
त्यस्तै, स्टेजका चर्चित कलाकार राजा राजेन्द्रले पनि पहिलो पटक यही फिल्ममार्फत चलचित्र अभिनय सुरु गरेका हुन् । चलचित्रमा डा. सूर्या थापालाई सह-नायिकाको भूमिका देख्न सकिनेछ ।
चलचित्रका लाइन प्रोड्युसर प्रकाश कडरिया युरोप निवासी भएकाले युरोपमा चलचित्रको राम्रो प्रदर्शन हुने निर्माण पक्षले अपेक्षा लिएको छ ।
लोहनीले भने, ‘हाम्रो चलचित्रको लाइन प्रोड्युसर नै युरोपनिवासी हुनुहुन्छ । युरोपमा गैरआवासी नेपाली र ईनासको बाक्लो उपस्थिति छ । त्यसैले युरोप शो व्यापक हुने हाम्रो विश्वास छ ।’
नेपालमा पनि राम्रो व्यापार गर्ने अपेक्षा हुँदाहुँदै पनि रिलिज मिति राम्रो नहुँदा र चलचित्रकर्मीहरुबीच नै अस्वस्थ प्रतिस्पर्धा हुँदा अपेक्षित व्यापार गर्न नसकेको लोहनीको गुनासो छ । यद्धपी उनले उक्त चलचित्र हेर्ने दर्शकहरुले राम्रो चलचित्र बनेको भनेर सुखद् प्रतिक्रिया दिएको सुनाए ।
उनले थपे, ‘चलचित्रकर्मी र समिक्षकहरुले पनि राम्रो चलचित्र बनेको भनेर भन्नुभएको थियो ।’ अर्जुन पोखरेलको शब्द तथा संगीत र निशान भट्टराईको स्वर रहेको चलचित्रको टाइटल गीत ‘तिमी हुन्छौं भने मेरो शुभ लभ’ गीत अत्यधिक रुचाइएको थियो ।
चलचित्रमा अभिमन्यु निरवीको पटकथा, रामेश्वर कार्कीको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, रोशन विक्रम भट्टराईको द्वन्द्व, अनुपम शाहको भिएफएक्स, ब्याकग्राउण्ड म्युजिक दिनेश सुनामको र बनिश शाह र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ ।
धर्मराज शर्मा सुवेदी निर्माता रहेको चलचित्रको छायांकन नेपालका हिमाल, पहाड र तराईका प्रायः रमणीय ठाउँहरुमा गरिएको छ । चलचित्रको युरोप टुरसँगै नेपालको भिजिट नेपाल–२०२० को प्रचारप्रसार गर्नेपनि आफूहरुको उद्देश्य रहेको लोहनीले बताए ।
लोहनी यही नोभेम्बर २७ तारिख युरोप टुरमा जाँदैछन् । युरोप टुर सकिएलगत्तै अष्ट्रेलिया, कोरिया, जापान, हङकङ र गल्फ राष्ट्रमा जाने तयारी रहेको लोहनीले जनाए ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।