फिल्म ‘हम्टी शर्माकी दुल्हनीयां’ र ‘बद्रीनाथकी दुल्हनीयां’ पछि अभिनेता बरुण धवनले पुनः एक पटक शशांक खेतानको साथमा काम गर्ने पक्का भएका छन् । अभिनेता बरुणले शशांकको फिल्म ‘रणभूमि’मा काम गर्ने भएका हुन् ।
पछिल्लो वर्ष करण जोहरले ट्वीट गर्दै फिल्म ‘रणभूमि’को घोषणा गर्न पाउँदा गर्व महसुस भएको बताएका थिए । साथै उनले २०२० को दिवालीमा दर्शकमाझ रिलिज गरिने जानकारी समेत गराइसकेका छन् ।
मुम्बई मिररका अनुसार शशांकले एकपछि अर्को गरेर लगातार बरुण धवनलाई निर्देशन गरिरहेका छन् । जानकारी अनुसार यो फिल्ममा दुई अभिनेत्री हुनेछन्, भूमि पेड्नेकर र कियारा आडवाणी ।
धेरै सोच–विचार लगाएर शशांकले यो फिल्मको लागि तीन कलाकारहरुलाई छनौट गरेका बताइएको छ । फिल्मकर्मी करण जोहरले पनि यी तीन कलाकारहरुलाई फाइनल गरिसकेका छन् ।
साथमा तीनै जना कलाकारहरुलाई फिल्मको स्क्रिप्ट पनि मन परेको छ । अहिलेको समयमा अभिनेता बरुण धवन आफ्नो फिल्म स्ट्रिट डान्सर–३ डीमा ब्यस्त छन् । जहाँ उनको अपोजिटमा अभिनेत्री श्रद्धा कपुर देखिदैछन् ।
यसका साथै उनले आफ्नै बुबाको फिल्म ‘कुली नम्बर-१’को सुटिङ पनि गरिरहेका छन् । यो फिल्ममा बरुणको अपोजिटमा सारा अलि खान देखिदैछन् ।
अर्को तर्फ अभिनेत्री भूमि पेड्नेकर आफ्नो फिल्म पति पत्नी और वोको प्रचार–प्रसारमा ब्यस्त छन् । त्यस्तै अर्की अभिनेत्री कियारा आडवाणी भने अक्षय कुमार, करिना कपुरसँग फिल्म गुड न्यूजको प्रचार गरिरहेकी छन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।