- सुवास लामिछाने
पर्वत, मंसिर १६ । बागलुङ बिउका राजेश गन्धर्व उमेरले २२ बर्षको भए । १३ बर्षको उमेरदेखिनै गन्धर्वले सारङ्गी रेटेरै बिताए । उनलाई सारङ्गी रेट्ने कामदेखि टाढा रहन मन छैन ।

लामो समयदेखि सारङ्गी रेटेर आफ्नो गुजारा चलाउँदै आएका उनले गाउँ शहरमा पुगेर सारङ्गी रेट्दै गीत गाउँदै गर्दा उनलाई साँझ बिहान बितेको पत्तै नहुने उनी बताउँछन् । बाउबाजेबाट घरमा सानै उमेरदेखि नै सारङ्गी रेट्ने सीप सिकेका राजेश १३ वर्षको उमेरदेखि नै पेशागत हिसाबले सारङ्गी रेट्दै गीत गाउँदै गाउँबस्तीमा जान थालेका अनुभव सुनाउछन् ।
अहिले उनलाई सारङ्गी रेट्न र मायाप्रेम, ख्यालठट्टाका गीत गाउनमा उत्तिकै जोश जाँगर बढेर आउने उनी सुनाउछन्। सारङ्गीको धुन निकालेपछि झन् जोशजाँगर बढेर आउँने अनुभव सुनाउने उनले आफ्नो बुवाले पनि यहि पेशा अगालदेै आएको बताए ।
उनको दुई भाइ र एक बहिनी छन् । उनको आमा चटपट बेच्ने काम गर्छिन र भाइहरु ग्रिल उधोगमा काम गर्छन । आफ्नो पुख्र्यौली पेशालाई संरक्षण गर्दै गीत–संगीतलाई नै जीविकोपार्जनका माध्यम बनाएर हिडेका उनले यहि पेशाबाट घरखर्च धान्दै आएका छन् ।
उनी भन्छन् , ‘गाउँदै हिड्दा कसैले गाली गर्छन्, हातपाखुरा छ किन माग्दै हिँडेको भन्छन्, त्यस्तो भन्दा साह्रै नरमाइलो लागेपनि त्यो नरमाइलो पल्लो घरमा पुगेर गीत गाउन थालेपछि बिर्सिहाल्छु ।’
बुबाले मात्र होइन, हजुरबुबाले पनि गीत गाएको याद भएको राजेशले बताए । अहिले आफूहरुको पेशा शङ्कटमा परेकोमा उनी दुःखी छन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।