अभिनेत्री तापसी पन्नु र विक्रान्त मैसीको पहिलो फिल्म ‘हसिना दिलरुबा’ निकै चर्चामा छ । यो फिल्मको पोस्टर समेत सार्वजनिक भइसकेको छ ।
यो एक थ्रिलर फिल्म हो । फिल्मको पोस्टरमा उनले आफ्नो साडीले केही माथि उठाएकी छन्, भने रगतको आहालमा टेकेकी दृश्यलाई प्रस्तुत गरिएको छ । साथै रगतको एकतर्फ किताब राखिएको छ, भने अर्कोतर्फ चक्कु छ ।
उक्त पोस्टर सेयर गर्दै अभिनेत्री तापसीले क्याप्शनमा लेखेकी छन्–‘म नराम्री छु, तरपनि नराम्री हुनुमा पनि निकै राम्री छु ।’ यो फिल्म १८ सेप्टेम्बर २०२०बाट दर्शकमाझ रिलिजमा आउँदैछ ।
यो फिल्मलाई विनिल मेथ्युले निर्देशन गरिरहेका छन् । उनले यस अगाडि परिणीति चोपडा र सिद्धार्थ मल्होत्रा स्टारर् फिल्म ‘हंसी तो फसी’ बनाएका थिए ।
फिल्म ‘हसिना दिलरुबा’को लागि फ्रेस जोडी छनौट गरिएको छ, तर उनीहरुको भूमिका के रहने भन्ने विषयमा भने केही उल्लेख गरिएको छैन । यो फिल्म एक रोमान्टिक थ्रिलर बताइएको छ ।
अभिनेत्री तापसीले ‘हसिना दिलरुबा’सँगै अनुभव सिन्हाको फिल्म ‘थप्पड’मा पनि काम गरिरहेकी छन् । यो फिल्ममा तापसीसँगै दीया मिर्जा पनि मुख्य भूमिकामा देखिदैछन् ।
यता अभिनेता विक्रान्त मैसीपनि अभिनेत्री दीपिका पादुकोणको साथमा फिल्म छपाकमा देखिदैछन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।
