काठमाडौं, ९ मसिर । बेलायतबाट १८ वर्षीया दिप्ता थापाको पहिलो म्युजिक भिडियो “यो जिन्दगी” सार्वजनिक भएको छ । उक्त म्यूजिक भिडियो बेलायतका लागि नेपाली राजदूत डा. दूर्गा वहादुर सुवेदीले विमोचन गरेका हुन् ।
विमोचन गर्दै राजदूत सुवेदीले यस गीतमा प्रयोग भएका शब्दहरु निकै मार्मिक भएको भन्दै गीतका सर्जक सन्जित देउजा तथा लय, शब्द, अरेन्जर, संगीतकार साथै सम्पूर्ण भिडियो निर्माण टिमप्रति बधाईसहित धन्यवाद दिए ।
गायिका दिप्ताका बुवा दिपक थापा बेलायतको नेपाली गीत संगीत तथा संस्कृति क्षेत्रका एक अब्बल श्रष्ठा हुन् भने आमा कुशल नृत्याङ्गना हुन् । आमा बुवाको प्रोत्साहनले नै गायन क्षेत्रमा पाइला चाल्न सकेकी दिप्ता बताउँछिन् ।
एनआरए यूके अध्यक्ष पूनम गुरुङले बेलायतको भूमिमा रहेर मातृभाषामा यो गीत तयार गरेको थाहा पाउँदा आफू सबैको पहिचान उच्च भएको भन्दै आगामी दिनमा पनि यसै गरी अघि बढ्न सुझाव दिइन् । यस गीतले दिप्तालाई चर्चाको शिखरमा पुर्याउनेमा उनले विश्वास व्यक्त गरिन् ।
पछिल्लो समय चर्चामा रहेका बीबीसी मास्टर शेफको सेमिफाइनलमा प्रवेश गर्ने पहिलो नेपाली शेफ सन्तोष शाहले पनि शुभकामना दिँदै आफू पनि बेलायतमा नेपाल र नेपालीलाई चिनाउने गरी बीबीसी कार्यक्रममा खाना पस्केको बताए । नेपाली खाना र नेपाली गाना मार्फत नेपाल विश्व सामु परिचित बनाउने जिम्मा अब हामी युवाको हो, रमाइलो शैलीमा शाहले सुनाए ।
कार्यक्रममा बेलायती नागरिक तथा कलाप्रेमी डी मेरी जोस, ईनास ग्लोबल अध्यक्ष कमला दहाल, वरिष्ठ गायिका शर्मिला बर्देवा, गायक सपन कुमार राई, डार्टफोर्ड समाज यूकेका अध्यक्ष गजेन कटुवाल लगायतका व्यक्तिहरुले दिप्तालाई शुभकामना दिएका थिए ।
दिप्ता थापाको स्वर रहेको गीतमा शिखर सन्तोषको संगीत, सन्जित देउजाको शब्द सिर्जना रहेको छ । भिडियोमा कोरियोग्राफरको भूमिका दिप्ताकै आमा सुनिता गौतम र मेकअप दिपिका श्रेष्ठको रहेको छ ।
[embedded content]
भिडियोको छायांकन, सम्पादन र निर्देशन बेलायतमा स्थापित सञ्चारकर्मी कुशल श्रेष्ठले गरेका छन् । विदेशी भूमिमा रहेर पनि दिप्ताले प्रस्तुत गरेकी उक्त गीत र भिडियोले प्रवासमा हुर्किएका नयाँ पुस्तालाई नेपाली गीत संगीतमा लाग्न साथै कला, संस्कृतिको संरक्षणमा गर्न प्रेरित गर्ने विश्वास लिइएको छ ।
भिडियो सार्वजनिक अवसरमा देश विदेशमा रहेका नेपाली, विभिन्न संघ संस्था, कलाकार आफन्तजन एवं कलाप्रेमीहरुले गायिका थापालाई शुभकामना दिएका थिए ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।