काठमाडौं, १२ पुष । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९)को प्रभावका कारण स्थगित भएको नेफ्टा अवार्डको १० औं संस्करण यही वर्ष हुने पक्का भएको छ ।
आयोजक संस्था नेपाल चलचित्र प्राविधिक संघले आगामी फागुन अन्तिम साता अवार्ड आयोजना गर्ने प्रेस विज्ञप्तीमार्फत जानकारी गराएको छ ।
नेफ्टा र ड्रिम हाई नेपाल प्रालिको संयुक्त आयोजनामा हुन लागेको अवार्डको उत्कृष्ट पाँच मनोनयन सार्वजनिक कार्यक्रम माघ १० गतेलाई तय भएको अवार्ड कार्यक्रम संयोजक सुष्मा पौडेल (गीता) द्वारा सार्वजनिक विज्ञप्तीमा उल्लेख छ ।
हाल जनजीवन सामान्य बन्दै गइरहेको र व्यापार व्यवसाय, यातायातसँगै चलचित्र हलहरुपनि खुल्ने क्रममा रहेको भन्दै चलचित्र क्षेत्रलाई थप चलायमान र सकृय बनाउन यही वर्ष नै अवार्ड कार्यक्रम गर्न लागिएको नेफ्टाले बताएको छ ।
‘कार्यक्रमको अन्तिम तयारीमा जुटिरहेका छौं’, संयोजक पौडेलसँगै ड्रिम हाई नेपालका प्रमुख कमल जीसीले भने, ‘टप फाइभ सार्वजनिक गरेको दिन नै अवार्ड आयोजना हुने अफिसियल मिति सार्वजनिक गर्नेछौं ।’
कोभिड १९ लाई मध्यनजर गर्दै सुरक्षा मापदण्ड र सामाजिक दूरी कायम गरी कार्यक्रम गरिने नेफ्टाले जनाएको छ । गत वर्षको चैत्र २२ लाई टुंडिखेलमा हुनेगरी तय भएको अवार्ड कार्यक्रम संसारभर फैलिएको कोरोना भाइरसको महामारीका कारण स्थगित भएको थियो ।
निर्धारित मितिमा कार्यक्रम गर्न नसकेकोमा यसबाट पर्न गएको प्रभावप्रति नेफ्टाले समस्त दर्शक, चलचित्रकर्मी, प्रायोजक तथा सुभेच्छुकप्रति क्षमा मागेको छ ।
साथै महामारीको कारण डुबानमा परेको चलचित्र क्षेत्रलाई गतिशील बनाउने आफूहरुको दायित्व भन्दै यस कार्यमा हातेमालो गर्न समग्र चलचित्रकर्मी, दर्शक तथा सुभचिन्तकहरुलाई नेफ्टाले आह्वान पनि गरेको छ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।