काठमाडौं । लामो भो उनी विदेशिएको । सक्रिय थिए खेलकुद पत्रकारिता र संगीतकर्ममा । नेपाली क्रिकेटको उदाउँदो त्यो दिनहरुमा उनी क्रिकेटलाई सबभन्दा नजिकबाट जान्ने र चिन्ने पत्रकार मानिन्थे । नेपाल खेलकुद पत्रकार मञ्चको संस्थापक पनि रहेका मनोज आचार्य अहिले नेपाल भन्दा टाढाको देश अमेरिकामा छन लगभग डेढ दशकदेखि । उनले सिर्जना गरेका धेरै गीतहरुले त्यतिखेर बजार पनि मज्जाले पिटेका थिए र अझै पनि धेरै ओठमा सल्बलाइरहेका छन् ।
विशेषत नविन के भट्टराईलाई समेत लोकप्रिय बनाउन सफल उनका गीतहरु ‘साँझ पख’ रात वित्यो , तिमीलाई म ’ लगायत आदि । आधुनिकता र पप भित्र पनि मर्मस्पर्शी शब्दहरु खेलाउन माहिर मनोजको पछिल्लो कोशेली बजारमा आएको छ । दिपेश किशोर भट्टराईको स्वरमा रहेको ‘तिम्रो आगमन’ गत फागुन २५ गते उनले अमेरिकाबाट नै युट्युवमार्फत सार्वजनिक गरेका हुन् । प्रनव आर्चायमा समर्पित सो गीतमा मोहित मुनालले संगीत भरेका छन् ।
आमाबाबुको तर्फबाट नवजात बच्चाको लागि समर्पित यो गीतले आमाबाबुको भावनालाई मर्मस्पर्शीरुपमा समेटिएको छ । रोल्पामा जन्मिएर बुढानिलकण्ठ स्कुलबाट विद्यालय शिक्षा पूरा गरेका मनोजले शंकरदेवबाट उच्च अध्ययन टुंग्याएपछि खेलकुद पत्रकारितातिर तानिए ।
खेलकुद पत्रकारितासंगै उनले गीत र संगीतको सिर्जनामा पनि त्यतिकै सक्रिय बने । तर २०५२ सालको फागुन १ गते तत्कालीन माओवादीले रोल्पा र रुकुमबाट सुरु गरेको विद्रोह पछि निकै निराश देखिएका मनोज त्यतिखेर दशरथ रंगशाला परिसर तिर चियाको चुस्की लिदा पनि भन्ने गर्थे‘ यो समस्याको समाधानको लागि राज्य अहिले नै गम्भीर बन्न आवश्यक छ । ’
माओवादी आन्दोलन त्यसबाट कहाँबाट कहाँ पुग्यो र मुलुकमा धेरै परिवर्तन पनि भए । उसैबेला चुपचाप अमेरिका हानिएका मनोज बेला बेलामा संगीतको कोशेली लिएर आउने गर्छन तर अमेरिकाबाटै ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।