काठमाडौं । प्रवासमा बसेर पनि नेपाली गीत–संगीत भनेपछि हुरुक्कै हुने बरिष्ठ संगीतकार नागेन्द्र श्रेष्ठ र बरिष्ठ गीतकार हिराकाजी थापाको जोडी पछिल्लो चम्किरहेको छ । यो जोडीको सहकार्यमा तयार भएको नयाँ गीत ‘मिठो धोका’ रिलिज गरिएको छोटो समयमा नै साढे २ लाख बढी दर्शकले हेरिसकेका छन् ।
लामो समयदेखि लण्डनमा बसोबास गर्दै आएका हिराकाजी थापा भर्सटाइल व्यक्तित्वको रुपमा परिचित छन्, भने हङकङमा बस्दै आएका ‘टाढा टाढा धेरै टाढा, चाँदनीमा बग्छ खोला’लगायतका कालजयी गीतका गायक श्रेष्ठ पनि बहुआयामिक ब्यक्तित्वका धनी छन् ।

संगीतकार श्रेष्ठ र गीतकार थापाको यो जोडीको सहकार्यमा हालै रिलिज भएको ‘मिठो धोका’ले बजारमा चर्चा पाइरहेको अवस्थामा यी दुई हस्तीलाई न कुनै ट्रेन्डिङको पर्वाह छ, न कुनै चर्चा परिचचर्चाको आवश्यक नै ।
कालजयी गीतहरु सिर्जना गर्नमा अभ्यस्त श्रेष्ठ र थापाको जोडी केवल निरन्तर नदीझैँ अविरल सिर्जना र साधनामा बगिरहेको छ । जसको परिणाम स्वरुप ‘मिठो धोका’ जन्मिरहेको छ । सार्वजनिक ‘मिठो धोका’मा गीतकार हिराकाजी थापाको शब्द तथा सुप्रसिद्ध संगीतकार नागेन्द्र श्रेष्ठको संगीत रहेको छ ।
गीतलाई उदयराज पौडेलले एरेञ्ज गरेका हुन् । सुजाता वर्माको आवाजमा सजिएको ‘मिठो धोका’मा उत्तम हुमागाईंको छायांकन, गौरव गिरीको कोरियोग्राफी, रहेको छ । श्याम कुँवरको सम्पादन रहेको गीतको भिडियोमा मोडल भद्रजंग कुँवर, समिक्षा पोखरेल, रिया क्षेत्री, प्रविन डीसी, गोर्खा तिरुवा र गङ्गा कुँवरको लोभलाग्दो अभिनय रहेको छ ।
बहुप्रतिभाका धनी गीतकार तथा निर्देशक थापाले विकशित प्रविधिको सदुपयोग गर्दै बेलायतबाट नै निर्देशन गरेका चौथो भिडियोको निर्माण पनि थापा आफैले गरेका हुन् । गत महिनाबाट संगीतकार श्रेष्ठ र गीतकार थापाको टिमले सञ्चालनमा ल्याएकाे युट्युब च्यानल ह्याङ्ग इन्टरटेनमेन्टले यतिबेला ब्यापक चर्चा पाइरहेको छ ।
ह्याङ्ग इन्टरटेनमेन्ट च्यानलले आगामी दिनहरुमा झनै उत्कृष्ट र मर्मस्पर्शी सांगीतिक कोसेलीहरु पस्किने गीतकार तथा निर्देशक थापाले बताए । गीतकार थापाका अनुसार ह्याङ्ग इन्टरटेनमेन्टमा चर्चित गायक प्रताप दासको ‘जोगी’ गीतको भिडियो दर्शकले केही समयमा नै हेर्न तथा सुन्न पाउने भएका छन् ।
त्यस्तै बानिका प्रधानको स्वरमा रहेको ‘माली’ बोलको गीत पनि दर्शकले केही दिनमा हेर्न तथा सुन्न सक्नेछन् । जसमा शिखर सन्तोषको संगीत तथा फणिन्द्र राईको एरेन्ज रहेको छ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।