काठमाडौं । बहुप्रतिक्षित नेपाली सिनेमा ‘प्रेमगीत–३’को निर्माण टिमले आधिकारिक रुपमा प्रमोशनको काम सुरु गरिएको जनाएको छ । निर्देशक तथा निर्माता सन्तोष सेनले मुम्बईबाट फर्किएलगत्तै आफूलगायत आफ्नो टिम सिनेमा प्रदर्शन मिति असोज ७ लाई टार्गेट गरेर प्रचार–प्रसारमा होमिएको जानकारी गराएका हुन् । हिजो मात्रै गोगंबुस्थित लोत्से मलमा सिनेमाका मुख्य कलाकारसहितको भब्य ब्यानर राखिएको छ ।
अब काठमाडौंसहित नेपालभरका मुख्य शहरमा यसैगरी प्रचार–प्रसारका सामग्री राखेर ‘प्रेमगीत’मय बनाइने निर्माता तथा निर्देशक सेनले बताए । त्यसपछि मात्रै दर्शक भेटघाट, मिडिया प्रमोशन, सोसल साइट प्रमोशनलगायतका काममा ध्यान दिने निर्माण पक्षको तयारी छ ।
नेपालसँगै भारतमा पनि प्रदर्शन गर्ने तयारी गरिएको सिनेमा कोरोना महामारीका कारण पछि सरेको थियो । केही समयअघि मात्रै निर्माण टिमले अनिश्चितकालका लागि पोष्टपोण्ड गरिएको ‘प्रेमगीत–३’को पोस्टर सार्वजनिक गर्दै आगामी असोज ७ गतेबाट दर्शकमाझ रिलिज गरिने जानकारी गराएको हो ।
दशैंको समयमा प्रदर्शन हुन लागेको ‘प्रेमगीत–३’ले ५० वर्षे नेपाली सिनेमाको इतिहासमा नै अन्तर्राष्ट्रिय बजारमा पहिलो पटक ढोका खोल्ने धेरैको अनुमान छ । नँया प्रदर्शन मिति घोषणासँगै दर्शकहरु निकै उत्साहित छन् । सिनेमामा अभिनेता प्रदीप खड्का र अभिनेत्री कृष्टिना गुरुङ मुख्य भूमिकामा छन् । सिनेमामा शिव श्रेष्ठ, सुनिल थापा, मनिष राउत, अनुभव रेग्मी, क्रिजन गौतमलगायत कलाकारको अभिनय रहेको छ ।
यसअघि सिनेमाका अन्य दुई श्रृङ्खला ‘प्रेम गीत’ र ‘प्रेम गीत–२’ बक्स अफिसमा सफल भइसकेका छन् । सिनेमाको तेस्रो भाग भने अघिल्ला प्रोजेक्ट भन्दा धेरै अपेक्षा गरिएको छ । स्व. छेतेन गुरुङ र निर्माता सन्तोष सेनले निर्देशन गरेको सिनेमाको कथा छेतेन गुरुङ र मन्दिप गौतमले लेखेका हुन् । सिनेमा भारतमा ‘विश्वजीतम्’ नाममा रिलिज हुँदैछ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।