काठमाडौं । ‘न दोष तिम्रो, न दोष मेरो’ बोलको गजल तपाईंले सुन्नु भएको छ ? यो गजल रेकर्ड भएको झन्डै दश वर्ष भयो । यसबीच यो गजलले स्रोताको ध्यान तानेन । धीरज त्रिवेणीको शब्द, शिशिर साधकको संगीत र जुनु रिजाल काफ्लेको स्वरमा यो गजल काठमाडौंको प्रज्ञा डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको थियो ।
रेकर्ड भएको पाँच वर्षपछि म्युजिक भिडियो पनि बन्यो । म्युजिक भिडियोमा सबिन श्रेष्ठ र दीया मास्केले अभिनय गरेका छन् । यति हुँदा पनि गजलले स्रोतको ध्यान तानेन ।
गायिका जुनु रिजाल काफ्ले भन्छिन्, ‘यसबीच के भयो, हामीलाई पनि थाहा छैन । तर सामाजिक सञ्जाल वा भनौं टिकटकमा चमत्कारिक ढंगले गजल छायो । सर्जक÷कलाकारहरुलाई यो कुराले खुसी त दिने नै भयो, त्यो भन्दा बढी आश्चर्यमा पनि पारेको छ ।’
यस गजलमा टिकटक बनाउनेहरु धेरै नै छन् । भ्यूज बेहिसाब छ । गायिका रिजाल भन्छिन्, ‘स्टेज कार्यक्रमहरुमा यो गजलको खास माग हुँदैन थियो । तर पछिल्ला केही कार्यक्रमहरुमा यहि गजलले पटक पटक ‘वान्स मोर’ पाइरहेको छ ।’
गजलको लिरिकल भिडियो र म्युजिक भिडियो दुवै गायक रामचन्द्र काफ्लेको युट्युब च्यानल ‘रामचन्द्र काफ्ले’मा क्रमशः ४ र २ दिन अघि मात्रै अपलोड गरिएको छ ।
गजलको टुक्रा टिकटकमा भाइरल भएपछि मूल गजल सुन्न स्रोताहरुले खोजेपछि अहिले पुनः अपलोड गरिएको गायक काफ्लेले बताए ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।