काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले फिल्म ‘प्रकाश’ले वर्तमान नेपाली राजनीतिमा भएको विकृतिलाई उजागर गरेको बताएका छन् । बुधबार दरबारमार्गस्थित दरबार सिनेम्याक्समा फिल्म हेरिसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष लिङ्देनले फिल्मले जनक्रान्ति र कम्युनिष्टको नाममा नेपालमा भइरहको विकृतिलाई उदांगो पारेको बताएका हुन् ।
उनले फिल्ममा वर्गीय व्यवस्थालाई प्रोत्साहित गर्न खोजेको कुरा देखाइएको बताए । अध्यक्ष लिङदेनले अहिलेको समाज कस्तो भन्ने कुरा फिल्ममा चित्रण गरिएको बताए । उनले फिल्म अहिलेको नेतृत्व गरिरहरने राजनीतिक नेता र कार्यकर्ताले हेर्नैपर्ने रहेको बताए । उनले राजनीतिमा अहिले भइरहेको विकृतिलाई चित्रण गरेको तर अब राजनीतिक दलहरुले समाजको परिवर्तन गर्न कसरी अघि बढ्ने भन्ने कुरा नदेखाएको बताए ।
उनले भने, ‘प्रकाश फिल्मले जे सन्देश दिन खोजिरहेको छ, वर्तमान राज्य व्यवस्थाले नजानिदो तरिकाबाट वर्गीय व्यवस्थालाई प्रोत्साहित गरिरहेको छ, त्यसलाई उठाइरहेको मान्छे हुँ । त्यो कुरा प्रकाश फिल्मले उठाइरहेको छ । यो फिल्मले अहिलेको समाज कस्तो छ ? त्यसलाई चित्रण गर्न सफल भएको छ, यो फिल्म अहिलेको नेतृत्व गरिरहरने राजनीतिक नेता र कार्यकर्ताले हेर्नैपर्छ ।’
उनले थपे, ‘राज्यले जनतालाई दिने सेवा, सुविधा जातको आधारमा नभइ वर्गको आधारमा हुनुपर्छ । चलचित्रले जनक्रान्तिको नाममा कम्युनिष्टको नाममा नेपालमा भइरहको विकृतिलाई उदांगो पारेको छ । फिल्मले समग्र नेपाली राजनीतिमा भएको विकृतिलाई देखाएको छ । अहिलेका विकृति देखाएको छ तर अब के हुनुपर्छ भन्नेकुरा चलचित्रले भनेको छैन ।’
अध्यक्ष लिङदेनले केही दिनअघि मात्रै प्रदर्शनमा आएको फिल्म माइकल अधिकारी हेर्न जाँदा अभिनेतालाई नै नचिनेको बताए । फिल्ममा अभिनय राम्रो लागेको तर बाहिर निस्किएर फोटो खिच्दासमेत सिनेमामा भएको अभिनेता सौगात मल्ल यहि हो भनेर छुट्याउन नसकेको भन्दै उनले भने, ‘मैले माइकल अधिकारी हेरेको थिएँ, हिरोसँगै बसेर फोटो खिचेछु, मलाई सौगात मल्ल को हो नै थाहा भएन । कस्तो राम्रो कलाकार भन्ने भयो, बाहिर देख्दा थाहा नै भएन ।’
नेपाली फिल्म प्रकाश गत शुक्रवारबाट देशभरका सिनेमा घरमा प्रदर्शनमा आइसकेको छ । शुरुवाती दिनमा फिल्मले शो नपाएपछि निर्माण र कलाकार टिमले पत्रकार सम्मेलन गर्दै सिनेमा घरहरुले शो नदिएको भन्दै दुखेसो गरेको थिए । अभिनेता प्रदीप खड्का स्वयंले नै दर्शकको माग अनुसार शो नपाएको भन्दै पत्रकार सम्मेलनमा गुनासो गरेका थिए । दिनेश राउतको निर्देशन र महेन्द्र अधिकारीको निर्माण रहेको फिल्मले शिक्षक बन्न एक युवकले गर्ने संघर्षको कथा भन्छ ।
दीनेश राउतको निर्देशन तथा नायक खड्का र नायिका दीया मास्केको मुख्य भूमिका रहेको उक्त चलचित्र जुम्लाको विकट ठाउँमा सरकारी शिक्षक बन्नका लागि गर्नुपरेको संघर्ष र मेहनतमा आधारित छ । चलचित्रको सम्पूर्ण छायांकन जुम्लामा नै गरिएको हो ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।