काठमाडौँ । कुनै समय फिल्म निर्माणबाट पनि चर्चामा रहेको चौधरी ग्रुपले पुनः फिल्म क्षेत्रमा फर्किने संकेत देखाएको छ । ‘बासुदेव’ जस्तो कालजयी फिल्मको रिमेक अर्थात् पुनः उत्पादन गर्ने चौधरी ग्रुपका कार्यकारी निर्देशक बरुण चौधरीले संकेत गरेका हुन् । न्युज २४ टेलिभिजनको इ–टक कार्यक्रममा बोल्दै उनले उक्त कुरा बताएका हुन् ।
यो फिल्म चौधरी ग्रुपले सन् १९८४ मा निर्माण गरेको थियो । यस ग्रुपले २०७० सालतिर फिल्म ‘भिसा गर्ल’को पनि निर्माण गरेको थियो । त्यसपछि भने यो घराना फिल्म निर्माणमा लामो समय निस्क्रिय रह्यो ।
आफ्ना पिता विनोद चौधरीले उतिबेलै निर्माण गरेको ‘बासुदेव’ फिल्मको रिमेक बनाउने ठूलो इच्छा रहेको बरुण चौधरीले बताएका छन् । अन्तर्वार्ताका क्रममा उनले भने, ‘मेरो खासमा त इच्छा ‘बासुदेव’को रिमेक बनाउने छ । भविष्यमा यसको रिमेक बन्यो भने अचम्म नमान्दा हुन्छ ।’
उनले चौधरी ग्रुपले भविष्यमा फिल्म बनाउँदैन भनेर भन्न नसकिने बताए । यसको मतलब भविष्यमा पुनः नयाँ फिल्म बनाउन पनि सक्ने उनको संकेत हो । नेपाली फिल्मलाई उदाउँदो इन्डस्ट्रीको रुपमा बुझेका चौधरी फिल्ममा जोखिम भए पनि दर्शकको मनोविज्ञान बुझ्न सके सफल हुने बताउँछन् ।
उनले नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय स्तरमा लैजाने योजना रहेको समेत सुनाए । यसका लागि उनी नेपाली र बलिउड इन्डस्ट्रीबीच सहकार्यको प्रयासमा छन् । पछिल्लो समय नेपाली फिल्म क्षेत्र धेरै व्यवस्थित र उन्नत भैसकेकोले यस क्षेत्रमा भविष्य राम्रो रहेको समेत उनले बताए ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।