एक ताका “गोलमाल भो अन्तरे गोलमाल” भन्ने गीत नेपालमा निक्कै चलेको थियो | अहिले अमेरिकी भुमीमा जन्मिएको प्राय: हरेक नेपाली संघ-संगठनमा बिबिध खाले “गोलमाल” हुने गरेको छ | ति संगठनहरुमा “लोकमान” र “भोकमान” हरु भएकै कारणले त्यस्तो गोलमाल हुने गरेको हो | अरुहरुको के कुरो गर्नु पहिले आफ्नै कुरा गरौँ | हाम्रो आफ्नै नेपाल अमेरिका पत्रकार संघ (नेजा) मा ठुलो गोलमाल भयो | तात्कालिक बरिष्ट उपाध्यक्ष गौतम दाहालले अमेरिकी दुतावासलाई पठाएको उनको हस्ताक्षर सहितको चिट्ठी खसोखास साप्ताहिक र युयसनेपाल अनलाईन डटकममा प्रकाशित भयो | तैं चुप मै चुप गरेर बसेका तात्कालिक महासचिब किशोर पन्थीले निर्वाचन आफ्नो अनुकुल नहुने भएपछि उक्त गुदी (गुह्य) आफ्नो पत्रिका मार्फत सार्वजनिक गरे अनि तात्कालिक अध्यक्ष आङ्ग छिरिङ्ग शेर्पाले कार्यकाल सकिएपछि मात्र मुख खोले | मैले त्यहि बहानामा आफ्नो साधारण सदस्यको हैसियत पनि परित्याग गरेँ | न्युयोर्कका थुप्रै सक्रिय संचारकर्मीहरुले सामुहिक राजिनामा दिए |
अहिले भोला आचार्यको नेतृत्वमा आएको नयाँ कार्यसमितिले “छानविन समिति” गठन गरेको छ तर यसको कार्यशैली अनि रफ्तार नेपालकै पाराको छ |
एनआरएन अमेरिका आरम्भदेखि बिभिन्न भाले गोलमालकै हैसियतमा बाँचेको छ | कहिले सिम्प्ली भोटिंगको फ्रड प्रकरण त कहिले एउटै मान्छेको क्रेडिट कार्डबाट हजारौंको भुक्तानी | पछिल्लो निर्वाचनमा व्यापक धाँधली भएको प्रमाणिक आरोप सहित यो कार्यसमिति मुद्दामामला खेपीरहेको छ |
अब अहिले निर्वाचन धाँधलीको चर्को आरोप प्रत्यारोप बिच अन्तर्राष्ट्रिय नेपाली साहित्यिक सामाज (अनेसास) अर्को गोलमाल प्रकरण सामाजिक संजालको सतहमा आएको छ | अहिले अध्यक्ष पदका प्रत्यासी कमला प्रसाईं आफुलाई धाँधली गरेर हराईएको र आफु निर्वाचित भनिएका पदम बिश्वकर्मा भन्दा मत संख्यामा अगाडी रहेको दावी गर्दै सामाजिक संजालमा आएकी छिन | यस्तो गोलमाल यहाँ प्राय हरेक संगठनमा हुने गरेका छन | नेपाली कांग्रेसको भात्री संगठन नेपाली जनसम्पर्क समिति यस्तो गोलमालमा अग्र स्थानमा रहेको छ | त्यहाँ एउटा गुटले अर्को गुटलाई अपदस्त गरेको बिज्ञप्तिहरु सार्वजनिक भई रहन्छ |
खोई, अब हामीले उताको “लोकमान” लाई के गाली अनि निन्दा गर्नु ! के यताका पदका यी “भोकमान” हरु उताका लोकमानहरु भन्दा कम छन र?