काठमाडौं । ‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान–२०७५’ बाट दुई जना बरिष्ठ सर्जकहरुलाई सम्मानित भएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा ‘भक्तराज आचार्य संगीत प्रतिष्ठान’ले बरिष्ठ गायक प्रेमध्वज प्रधान र बरिष्ठ संगीतकार शम्भुजीत बास्कोटालाई सम्मान गरेको हो ।

भजन शिरोमणि भक्तराज आचार्यले बरिष्ठ गायक प्रधान र बरिष्ठ संगीतकार बास्कोटालाई दोसल्ला ओडाएर ताम्रापत्र र नगदसहित सम्मान गर्नुभएको हो । संगीतकार बास्कोटाले ‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान–२०७५’बाट सम्मानित हुनु पाएकोमा खुसी ब्यक्त गर्नुभएको छ ।

उहाँले लाखौंको प्रिय गायक भजन शिरोमणि भक्तराजसँग धेरै कामहरु सँगै गरेको बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘उहाँ गायक मात्रै हुनुहुन्न । नेपालकै पहिलो लिप्सिङ गर्ने कलाकार पनि हुनुहुन्छ ।’ साथै उहाँले ऊ बेला नै रोयल्टीको मुद्दा उठाउनुभएको कुरालाई पनि संगीतकार बास्कोटाले सम्झिनुभयो ।

त्यस्तै बरिष्ठ गायक प्रेमध्वज प्रधानले पनि आफू ‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान–२०७५’ सम्मानित हुन पाउँदा निकै खुसी लागेको बताउनुभयो । साथै यो सम्मानले गीत÷संगीतमा लाग्नेहरुका लागि अझ आत्मबल बढाएको उहाँको भनाइ थियो ।
सामाजिक र साङ्गीतिक कार्यहरुमा क्रियाशील रहेको भक्तराज आचार्य सङ्गीत प्रतिष्ठानले गायन र सङ्गीत क्षेत्रका स्रष्टाहरुलाई हरेक वर्ष सम्मान गर्दै जाने जानकारी गराएको छ । प्रतिष्ठानले यो वर्षको सम्मान कार्यक्रम सिटी एक्सप्रेस मनि ट्रान्सफरको मुख्य सहयोगमा आयोजना सम्पन्न गरेको हो ।

‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान–२०७५’ कार्यक्रममा गायक सत्यराज र स्वरुपराज आचार्यले पूराना गीतहरु प्रत्यक्ष प्रस्तुत गर्नुभएको थियो । गायक आचार्यले बरिष्ठ गायक प्रेमध्वज प्रधानको कालजयी गीत ‘पर लैजाउ फूलहरु…’ र आफ्नै बुबा भक्तराज आचार्यको चर्चित ‘हजार सपनाहरुको…’ बोलको गीत प्रस्तुत गर्नुभएको थियो ।

त्यस्तै गायक स्वरुपराज आचार्यले स्वरसम्राट नारायण गोपालको ‘पर्खी बसेँ…’गीत लाई प्रत्यक्ष प्रस्तुत गर्नुभएको थियो ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।