काठमाडौं, १५ असार । सन्तोष सेनको आगामी फिल्म ‘प्रेमगीत–३’को ‘गीत’ बन्ने सौभाग्य क्रिष्टिना गुरुङले पाएकी छिन् । निर्माण पक्षले आह्वान गरेको अडिशनमा दुई हजार सात सय चौध जना प्रतिस्पर्धी मध्ये उत्कृष्ट २५ मा परेकी क्रिष्टिनाले अन्य २४ प्रतिस्पर्धीलाई पछि पार्दै ‘गीत’ पात्रको लागि छनौट भएकी हुन् । निर्माता सेनले आफ्नो फेसबुक मार्फत ‘प्रेमगीत–३’को मुख्य अभिनेत्रीको रुपमा अमेरिकामा रहँदै आएकी क्रिष्टिना गुरुङलाई छनौट गरिएको जानकारी गराएका हुन् ।
निर्माता सेनले ‘गीत’ पात्रको लागि क्रिष्टिना गुरुङलाई फाइनल गरिएको जानकारी गराउँदै फेसबुमा लेखेका छन्, ‘लामो समयको पर्खाई पश्चात आज सबै चलचित्रप्रेमीहरुको कौतुहलता मेटिएको छ । सबैले आफ्नो मनमा अड्कल गरेर बनाएको गीतको आकृतिमा एउटा नाम जोडिन पुगेको छ, त्यो नाम हो–क्रिष्टिना गुरुङ ।’
‘गीत’ पात्रको रुपमा क्रिष्टिना गुरुङ फाइनल भएसँगै फिल्मको सबै मुख्य कलाकारहरु फाइनल भइसकेका निर्माता सेनले जनाएका छन् । फिल्मको मुख्य भूमिकाको लागि बरिष्ठ अभिनेता शिव श्रेष्ठ, सुनिल थापा, प्रदीप खड्का, सन्तोष सेन, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी र बाल कलाकार अनुभव रेग्मी फाइनल भइकसेका छन् । साथै भर्खरै ‘गीत’ पात्रको रुपमा क्रिष्टिना गुरुङ फाइनल भएकी छन् ।
निर्माण पक्षका अनुसार यो फिल्ममा प्रेमको भूमिकामा प्रदीप खड्का देखिदै छन् । प्रेमको बाल्यवस्थाको भूमिकामा अनुभव रेग्मी देखिने भएका छन्, भने प्रेमको बुबाको भूमिकामा शिब श्रेष्ठलाई देख्न पाइनेछ ।
करिब ४ करोडको लागतमा बन्दै गरेको ‘प्रेमगीत–३’को बारेमा बोल्दै निर्माता सेनले भने, ‘ दशैंको टिका लगाएर यो फिल्मको छायाङ्कन सुरु गर्नेछौं ।’ यसै वर्षको चैत २८ गतेबाट दर्शकमाझ रिलिजमा आउँदै गरेको यस फिल्मलाई निर्माता तथा कलाकार सन्तोष सेन र छेतेन गुरुङले संयुक्त रुपमा निर्देशन गर्दैछन् । आसुसेन फिल्मसको ब्यानरमा बन्दै गरेको ‘प्रेमगीत–३’ सन्तोष सेनको पाँचौं प्रोजेक्ट हो ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।