काठमाडौं, १७ असार । संसदीय समितिले नेपालमा हुने भनिएको ‘इन्टरनेशनल इन्डियन फिल्म एकेडेमी अवार्ड’ (आइफा) रोक्न सरकारलाई निर्देशन दिएको छ ।
प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले आइफा अवार्डले नेपालको स्वाधिनता, स्वतन्त्रता, सार्वभौमसत्ता र अस्मितामाथि आँच पु¥याउने भन्दै रोक्न सरकारलाई निर्देशन दिएको हो ।
आज बसेको समितिको बैठकले आईफा अवार्डका तर्फबाट पठाइएको प्रस्तावमा नेपालको सार्वभौम अस्तित्व अस्वीकार गरेजस्तो देखिएको र नेपाल सरकारकै करोडौं लगानीमा कार्यक्रम गर्नुको औचित्य पुष्टि नहुने ठहरसमेत गरेको छ ।
बैठकमा सत्तारुढ नेकपाबाटै प्रतिनिधित्व गर्ने सदस्यहरु भीम रावल, अग्निप्रसाद सापकोटालगायतले भारतकै प्रस्तावअनुसार आयोजना गरिए दुर्भाग्य हुने भन्दै अवार्डका लागि भारतीय पक्षले पठाएको प्रस्ताव मागेका थिए ।
समितिले आइफा अवार्डसँग सम्बन्धित सम्पूर्ण जानकारी सरकारसँग माग्ने निर्णय पनि गरेको छ । अवार्ड अगष्ट अन्तिम साता काठमाडौंमा हुने बताइएको थियो । सरकारको लगानीमा गर्न लागिएको भन्दै जनस्तरबाट अवार्डको विरोध हुँदा सरकारले भने पर्यटन प्रबद्र्धन हुने तर्क गर्दै आएको छ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।