काठमाडौं । फिल्मकर्मी नवल खड्काले आफूहरुले ‘आईफा अवार्ड’ नेपालमा हुनै हुँदैन भनेर विरोध नगरेको स्पष्ट पार्नुभएको छ । तर, सरकारले जनताको करलाई दुरुपयोग गर्ने गरी ठूलो धनराशी खर्चिन खोजेकोले विरोध जनाएको उहाँले स्पष्ट पार्नुभयो ।
अवार्डमा आउने पाहुनाहरुलाई स्थान, सुरक्षा दिनुपर्नेमा अरबौं रुपैयाँ खर्चिन खोजेर सरकारले दलालीको पराकाष्ठा नघाएको पनि खड्काको आरोप छ । उहाँले काठमाडौंको धुलो, हिलो र ट्राफिक जाम देखाएर पर्यटन प्रर्वद्धन नहुनेपनि टिप्पणी गर्नुभयो ।
खड्काले सम्झौतामा नै नेपाल सरकार उक्त अवार्ड गर्न लालायित भएको भनेर लेखिएकोमा पनि सुनाउनुभयो । उहाँले भन्नुभयो, ‘नाकाबन्दी भयो भन्ने नसक्ने सरकार किन यो अवार्ड गर्न लालायित भयो ? हाम्रो प्रश्न छ ।’
आईफाको लागि खर्चिन खोजिएको एक अर्ब रुपैयाँ खप्तडमा बाटो–घाटो बनाउन खर्चिने हो भने पर्यटनको राम्रो विकास हुने पनि उहाँको धारणा छ । खड्काले नेपाली कलाकारहरु उपचार नपाएर मरिरहेको अवस्थामा सरकारले वास्ता पनि नगरेको तर भारतीय कलाकारहरुसँग सेल्फी खिचाउन र उनीहरुको अगाडि भाषण गर्न अरबौं रकम खर्चिन खोज्नु गलत भएको सुनाउनुभयो ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।