- हरिशजङ्ग क्षेत्री
काठमाडौं, साउन २० । सुदुरपश्चिम प्रदेशका विकट जिल्लाहरुको शिक्षा र स्वास्थ क्षेत्रमा सहयोग पुर्याउने उद्देश्यले दक्षिण कोरियामा सांगीतिक कार्यक्रम हुने भएको छ ।

दुर्गम क्षेत्रको शिक्षा र स्वास्थ्यमा टेवा मनोरञ्जन संगै सक्दो समाजसेवाू भन्ने मुल नाराका साथ हुने बृहत सांगीतिक कार्यक्रममा नेपालका चर्चित गायक गायिकाहरुको उपस्थिति रहनेछ । वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया पुगेका सुदुरपश्चिम प्रदेशका युवाहरुको पहलमा विकट जिल्लाहरुको शिक्षा र स्वास्थ्यमा टेवा पुर्याउनका निम्ति कार्यक्रम हुन लागेको हो ।
सुदुरपश्चिम समाज दक्षिण कोरियामा आयोजना हुन लागेको सेती महाकाली सांगीतिक सौगात भाग(३ कार्यक्रममा नेपाली चर्चित आधुनिक गायिका ईन्दिरा जोशी, नेपाल आईडल दोस्रो सिजनका बिजेता रबि ओड, चर्चित डोटेली गायिका रेखा जोशी, दोहोरी गायक कुलेन्द्र विक, देउडा तथा लोकपप गायक चक्र बम, गायिका एवं कार्यक्रम होस्ट अनिता चलाउने, डोटेली गायक भक्तराज भट्ट र थारु संस्कृतिका गायक मोहन चौधरीको उपस्थिति रहने सुदुरपश्चिम समाज दक्षिण कोरियाका निवर्तमान अध्यक्ष एवं सल्लाहकार कमल बहादुर शाहीले जानकारी दिएका छन् ।
सुदुरपश्चिमका दुर्गम तथा विकट मानिएका जिल्लाहरुमा शिक्षा र स्वास्थ्यमा टेवा पुर्याउन मनोरञ्जनात्मक कार्यक्रमको सहारामा समाजसेवा गर्ने आफुहरुको उदेश्य रहेको शाहीले बताए । २०१९ को सेप्टेम्बर १३ तारिखमा दक्षिण कोरियामा हुने कार्यक्रमलाई सफल पार्न सुदुरपश्चिम समाजले सहयोगका लागि अपिल समेत गरेको छ ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।