- सुवास लामिछाने
पर्वत । कतै व्यापारिक प्रयोजनको लागि त कतै पर्यटनको प्रवर्धन र मनोरञ्जन प्रदानका लागि आयोजना हुने मेला महोत्सवहरुमा खोजिने चर्चित नाम हो कृष्ण अँखेली ।

नेपाली लोक गीत संगीतको क्षेत्रमा रहेको उनको लगाव र प्रत्यक्ष कार्यक्रमहरुमा उद्घोषण गर्ने कलाका कारण पछिल्लो समय धौलागिरीका प्राय कार्यक्रमहरुमा उनको खोजी हुन थालेको छ । बागलुङको बलेवामा जन्मिएर पर्वतलाई कर्मक्षेत्र बनाएका अखेली पेशाले रेडियो कर्मी हुन् अहिले लोक दोहोरीको क्षेत्रमा उनको नाम पनि स्थानीय क्षेत्रमा अग्रपंक्तिमा आउन थालेको छ ।

विद्यालयहरुमा हुने प्रतियोगितादेखि ठूला – ठूला मेला र महोत्सवमा आयोजना हुने दोहोरी गीत प्रतियोगितामा सहभागी भएर नेपाली लोक दोहोरी क्षेत्रको अनुभव संगालेका अँखेलीले ‘बत्ति बिना दियो बल्दैन’ नामको एल्वम बजारमा ल्याएर संगीतको यात्रा तय गरेका थिए ।

उनको पहिलो एल्वममा अहिलेका चर्चित शब्द संकलक शिव अँखलीले साथ दिएका थिए । नेपाली सांगितीक बजारमा अडियोको बजार संक्रमणकालमा रहेको बेला बजारमा आएको उनको पहिलो एल्वमले बजार तताएपछि उनको लोकगीत संगीतको यात्रा थप बलियो बन्यो ।
सर्वजनिक कार्यक्रममा गीत गाउने, प्रतिष्पर्धामा सहभागी हुने र पुराना कलाकारहरुसँगको संगत गर्ने र सिक्ने गर्दै अँलेखीले बिस्तारै संगीतको बजारमा हाम फाले । तत्कालिन समयमा आर्थिक उपार्जनका हिसावले निकै अनुत्पादक क्षेत्र जस्तो बनेको संगीतको बजारमा संघर्ष गर्न त्यति सहज भने थिएन । अडियोको बजार खस्केको र आधुनिक डिजिटल माध्यामको प्रयोगले मात्रै गीत गाउँदा र बनाउँदा कुनै फाइदा नदेखेपछि दर्शक स्रोताको मन जित्ने माध्यामका रुपमा अँखेलीले एफ एम रेडियोलाई प्रयोग गरे ।
गीत संगित सँगै सञ्चार क्षेत्रमा प्रवेश गरेका अँखेलीले पर्वतको पहिलो सामुदायिक रेडियो पर्वमा प्रवेश गरेर लोक गीतको कार्यक्रम मार्फत आफ्नो संगीतको यात्रालाई थप मजबुद बनाएका थिए । स्वर र प्रस्तुती राम्रो रहेका कारण उनको कार्यक्रम निकै रुचाइएपछि रेडियोले थप जिम्मेवारीसहित उनलाई कार्यक्रम संयोजकको जिम्मा दिएको थियो ।
रेडियोमा गुञ्जिने आवाज र गीतका स्वर, शव्द र लयमा आउने उनको नामका कारण धोलागिरीमा निकै चर्चित उद्घोषकको पहिचान बनाउन अँखेली सफल भए । अहिले यहाँ आयोजना हुने हरेक ठूला सार्वजनिक कार्यक्रमहरुमा उनको खोजी हुन थालेको छ । सांगठनिक रुपमा लोक दोहोरी गीत प्रतिष्ठान धौलागिरीको बरिष्ठ उपाध्यक्ष, लोक तथा दोहोरी गित प्रतिष्ठान गण्डकी प्रदेशको सचिवालय सदस्यको जिम्मेवारी निभाइरहेका अँखेलीले दर्जन बढी चर्चित लोक गीत बजारमा ल्याएका छन् ।
‘कलाकारले देखे’, ‘सेते दाई सँग पार्सल पठा छु ‘आउने जाने बसैको भाडा तिरौंला, ‘मोदिको पानी‘, ‘माछा मयाँले‘ लगायतका चर्चित गीतमा अँखेलीले स्वर शव्द र लय भरेका छन् । २ दर्जन बढी लोक गीतका एल्वममा आबद्धता जनाएका अँखेली शव्दमा भन्दा स्वर र संगीतमा बढी लगाव रहेको बताउँछन् । ‘सुन्ने स्रोताको भन्दा हेर्ने दर्शकको मायाँ बढी पाएको छु’ अँखेलीले भने ‘कयौं मेलाहरुमा त एक्लै गीत गाएर मेला सफल बनाएका उदाहरण छन् ।’ मेला तथा महोत्सवहरुको व्यवस्थापनमा समेत निकै माहिर मानिएका अँखेलीको रेडियोको यात्रा पनि जारी छ ।
गन्धर्ब जातिको उद्गम थलोका रुपमा चिनिने बलेवा क्षेत्रका अखेलीलाई गीत संगीतमा लागेकै कारण उनलाई साथि भाईहरु ‘गाइने दाई’ भनेर बोलाउँछन् । रेडियो पर्वतबाट सञ्चार क्षेत्रको यात्रा सुरु गरेका उनले पर्वतकै रेडियो शालिग्राममा केही समय काम गरे भने अहिले पर्वतकै सामुदायिक रेडियो कुशुमको स्टेशन प्रमुखको रुपमा काम गरिरहेका छन् । झण्डै ११ बर्ष रेडियोमा काम गरेका उनले आफ्नो कलाकारिताको पहिचान गराउन रेडियोको भूमिका महत्वपूर्ण रहेको बताए ।
‘गीत बनाएर कमाई हैन खर्च मात्रै छ’ अँखेलीले भने ‘स्टेज प्रोग्राम र रेडियोको कमाईले गीत संगीतको यात्रा जारी राखेको छु ।’ नेपालमा मनाईने पर्वहरुलाई आधार बनाएर उनका धेरै गीत बजारमा आएका छन् । तीजका गीतले निकै चर्चा कमाईरहेका अँखेलीले दशैं तिहार जस्ता पर्वहरुको विषयमा पनि गीत सिर्जना गर्ने गरेका छन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।