- कृष्ण पाण्डे
बुटवल, ६ पुष । पाल्पा जिल्ला निस्दी — ५ मा पिता पूर्णबहादुर गैरे र माता कल्पना गैरेको परिवारमा दोस्रो सन्तानको रुपमा जन्मिएका हुम गैरे लाखौ दर्शक एवं स्रोताको मनमुटुमा बस्न सफल गायक तथा सर्जक हुन् ।

नेपाली गीत संगीतको बजारमा चर्चित एवं व्यवसायिक र लोकप्रिय सर्जकहरुको नाम लिनु पर्दा गैरेको नाम पनि अग्रपंक्तिमा आउँछ । नेपाली संङ्गीत बजार डिजीटल मार्केटमा फड्को मार्नु अघि निकै थोरै मात्र व्यवसायिक गायक,गायिका एवं सर्जकहरु थिए, त्यतिबेला गैरेको क्यासेट एल्बम दर्शक स्रोताले खोजी खोजी किन्ने र सुन्ने गर्दथे । आजकाल उनलाई स्रोताले युटुबमा समेत खोज्ने गरेका छन् । प्रविधिले गर्दा व्यवसायको प्रकृति फेरिए पनि उनको लोकप्रियता भने कायमै छ ।

परिवारको एकमात्र छोरोको रुपमा जन्मिएका कारण स्वाभाविकै उनमा परिवारीक जिम्मेवारी पनि उत्तिकै थियो । तर पनि हरेक कुरालाई सरल,सहज र सकारात्मक रुपमा लिने स्वभावका हुमले आफ्ना जिम्मेवारीहरु ईमान्दारीका साथ पूरा गर्दै गए । त्यतिबेलाको समय अहिलेको जस्तो सहज थिएन र व्यवसायिकरुपमा गीत गाएर कलाकार बन्छु भन्ने कुरा कल्पना भन्दा पनि बाहिरको कुरा थियो ।
सुरुवाती दिनमा परिवारको सहयोग खासै नभएपनि मगर समुदाय र गाउँले परिवेशमा हुर्केका कारण लुकीछिपी रोधीमा गीत गाउँदै विस्तारै सांङ्गीतिक बाटो कोरेको आफ्नो सुरुवाती दिन सम्झिदै गायक हुम बताउँछन् । त्यो बेला गाउँ घरमा रोधी बस्ने चलन निकै थियो । उनलाई रोधीमा गाउन निकै रहर लाग्थ्यो । तर अभिभावकको चाहाना छोराले धैरे पढोस् सरकारी जागिर खाओस् भन्ने थियो त्यसैले पनि उनी खुलेर गीत गाउन पाउँदैन थिए ।
घरको झ्यालबाट भागेर लुकीछिपी मगर गाउँमा रोधी बस्न पुग्थे । गाउँका हरेक बिहे, भोज, पास्नी, पूजाआजा अनि मेलामा लुकीछिपी गीत गाउन हुम नपुगेको ठाउँ कमै हुन्थ्यो । राति गृहकार्य छोडेर छोडेर लुकीछिपी घरको झ्यालबाट भागेर रोधी बस्न जाँदा धेरै पटक आमाको कुटाई खाएको क्षणहरु पनि उनको मानसपटलमा ताजै छ । विद्यालयको साप्ताहिक कार्यक्रम र गाउँका क्लवको बार्षिक उत्सवहरुबाट औपचारिक गायन यात्रा आरम्भ गरेका गैरेले पहिलो पटक २०६० सालमा सिसा फ्रेममा बोलको पहिलो गीत रेकर्ड गराएका थिए ।
शर्मिला गुरुङ्ग र कृष्ण परियारसंग गाएको त्यो पहिलो गीतले नै उनलाई पश्चिम क्षेत्रमा एउटा आशा लाग्दो गायकको पहिचान दिलाएको थियो । त्यसपछि रेकर्ड भएका हरेक गीत चर्चित हुँदै गएपछि एकातिर उनका फ्यान बढ्दै गए भने अर्को तिर उनी छोटो समए मै स्थापित भए । २०५९ सालदेखि २०६४ साल सम्म गैरेले धेरै स्थानीय स्तरदेखि राष्ट्रिय स्तर सम्मका दर्जनौ दोहोरी गीत प्रतियोगीतामा सहभागी हुँदै धेरै प्रतियोगीतमा विजेता बने ।
अहिलेका स्थापित गायिकाहरु बिष्णु माझी,देबी घर्ती,ज्योति मगर,कलिका रोका लगायतहरुसंग प्रतियोगितामा भिडेका हुन गायक गैरे । २०६४ सालपछि उनको संगीत यात्राले अर्को मोड लियो । सञ्चारकर्मी अनि गायनसंगसंगै शब्द रचना र भाका सिर्जनातर्फ लागे गैरे । वियोगान्त गीत रचना गर्न ,लेख्न र गाउन रुचाउने गैरेको मौलिक पञ्चेबाजा,सालैजो,कडुवा,रोईला (खेली) साथै तिज गीतहरु पनि चर्चित छन् ।
हुमले अहिले सम्म करिब ७ साय भन्दा धेरै गीतमा शब्द तथा भाका रचना गरिसकेका छन भने करिब १ सय बढी गीतमा स्वर दिई सकेका छन् । सरल,शान्त र सहयोगी स्वभावका गायक गैरे राप्ती अवार्ड,लोक दोहोरी अवार्ड,प्रथम लुम्विनी लोक दोहोरी अवार्ड,संगीत नाट्य कला प्राज्ञ प्रतिष्ठान, लुम्विनी नव प्रतिभा सम्मान,भगत सर्वजीत स्मृति प्रतिभा सम्मान,प्रशंसनीय दृष्टिकोण राष्ट्रिय संञ्जाल नेपाल लोक प्रतिभा सम्मान,सामुदायिक रेडियो मदनपोखरा लोक प्रतिभा सम्मान लगायत अन्य विभिन्न संघ —संस्थाहरुबाट समेत सम्मान प्राप्त गरेका छन् ।
२०६८ सालमा विशाल मुभिज नामको म्युजिक कम्पनी स्थापना गरी संगीत ब्यवसाय तिर पनि हात हालेका गैरेले सो म्युजिक कम्पनी मार्फत करिब पाँच सय भन्दा बढी गीतको अडियो अनि भिडियोको उत्पादन तथा बजार ब्यवस्थापन गरि सकेका छन् ।
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।