काठमाडौँ, २३ पुष । गत मङ्सिर २८ गते बूढानिलकण्ठमा भएको कार दुर्घटनाको विषयमा नायिका परमिता राणाले मुख खोलेकी छिन् । गत २८ गते बिहान नशाकाे सुरमा चालक पृथ्वी मल्लले हाँकेको बा १४ च ६१२३ नम्बरको कारले बूढानीलकण्ठ स्कुल अगाडि गोरखा बारपाक सुलिकोट ८ जराङकी लिला देवकोटालाई विभत्स तरिकाले किचेर ज्यान लिएकाे थियो।
महिलालाई ठक्कर दिने कारभित्र मादक पदार्थले लठ्ठिएका ४ जनामध्ये चालक पृथ्वी मल्ल,करिश मास्के, एलिना थापा र अर्की एक महिला सवार रहेको भनिएपनि ति महिला को थिइन् कौतुहलता रहेको थियो । सामाजिक सञ्जालमा भने चौथो यात्रु परमिता राणा नै रहेको भन्दै उनीमाथि आक्रोश पोखिइरहेको थियो । तर नायिका राणा भने यसबारे मौन रहेकी थिइन् ।
दुर्घटनाग्रस्त कार
मौन रहेकी राणाले दुर्घटना भएको करिव एक महिना पुग्नै लाग्दा उक्त दिन दुर्घटना गराउने कारमा आफू पनि सवार रहेको स्वीकार गरेकी छिन् । उनले सामाजिक सञ्जालमार्फत आफूले बल्ल यो कुरा खुलासा गर्ने हिम्मत जुटाएको भन्दै उक्त घटनाको लागि माफी मागेकी छिन् ।
उनले सामाजिक सञ्जालमा लेखेकी छिन् -‘सर्वप्रथम म सबैसँग माफी माग्न चाहन्छु । चार जना मानिसले लिएको एक मूर्खतापूर्ण निर्णयले एक निर्दोषको ज्यान गएको छ । म यो सत्य नभइ एक डरलाग्दो सपना होस् भन्ने कामना गर्छु, तर म पनि कारभित्रको एक यात्रु थिएँ ।’म अझै पनि उक्त घटनाले स्तब्ध छु । माफी माग्नमा ढिलाइ गरेकोमा मनदेखि माफी क्षमा चाहन्छु । मप्रति जनताले देखाएको आक्रोशलाई बुझ्छु ।’
यो समाचार नयुज २४ नेपालबाट लिईएको हो।